Shittalpati
‘कृषि योग्य भूमी  बाँझो रहँदै जानु दुखद्’

पाल्पा (रामपुर), जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख मिरा मरासिनीले राष्ट्र समृद्धिको आधार कृषि भए पनि युवा जनशक्तीको अभावमा कृषि योग्य भूमी बाँझो रहँदै जानु दुखद् भएको बताएकी छन् । सूर्याेदय कृषि सहकारी संस्था लिमिटेड रामपुरको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै प्रमुख मरासिनीले सरकारले कृषिको व्यवसायिकरणका लागि पहल गर्दै आएको भन्दै त्यसमा कृषि सहकारीको भूमिका अझ महत्वपूर्ण हुने बताइन् ।

साथै उनले स्थानीय सरकार अब कृषिको उत्थानका लागि अग्रसर हुनु आवश्यक रहेको धारणा व्यक्त गरिन् । कार्यक्रममा कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले सहकारीका सात सिद्धान्तलाई अवलम्बन गरी आर्थिक सामाजिक र कृषि रुपान्तरणका लागि काम गर्नुपर्ने बताए । उनले सरकार र प्राविधिकले मात्र कृषि क्षेत्रको रुपान्तरण नहुने हुदाँ सहकारीको भूमिका मुख्य रहने धारणा व्यक्त गरे । कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य भूपती पाण्डेय, रामपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठ, सिताकुण्ड दूग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णकुमार अर्याल लगायतले बोल्दै गाउँको विकास र समृद्धिमा सहकारीले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

साधारण सभाको अवसरमा पत्रकारिताको माध्यमबाट कृषिको प्रवद्र्धनमा खेलेको योगदानको कदर गर्दै पत्रकार सुशिला रेग्मी र इमान सिं रानालाई नगद सहित प्रमाण पत्रले सम्मान गरेको थियो । संस्थाका अध्यक्ष रुद्रनारायण श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष रुद्रनारायण श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष सोमबहादुर सेनको स्वागत र सचिव सूर्यप्रसाद श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update