Shittalpati
रिब्दीकोट गाउँ सरकारले कृषकलाई ब्याजमा शत प्रतिशत अनुदान दिने

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँ सरकारले कोभिडका कारण रोजगार गुमाएका युवाहरूको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन कृषि ऋणमा शतप्रतिशत ब्याज अनुदान दिने भएको छ । गाउँपालिकाले कोराना भाइरस (कोभिड–१९) का कारण स्वदेश तथा विदेशमा रोजगार गुमाएका र स्वदेशमै व्यवसायिक कृषिमा लाग्न चाहने उद्यमशील युवाहरुलाई लक्षित गरेर व्यवसायिक ऋणको लागि ब्याज अनुदान दिने भएको हो । स्वदेशमै केही गर्न चाहने इच्छा भएर पनि पूँजीको अभावमा गर्न नसकेका युवाहरुका लागि गाउँपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान दिने गरी योजना अगाडि सारेको छ । कोरोना भाइरस (कोभिड–१९) ले रोजगारी गुमाएर फर्किएका, नेपालमै पनि रोजगार गुमाएका, स्थानीय बेरोजगार, विदेश जान तयार रहेका र स्वदेश मै केही गर्न चाहने युवाहरुका लागि गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताए ।

उनका अनुसार युवाहरुलाई गाउँमै उद्यमशील बनाउने उद्देश्यले कृषकलाई ५० हजारदेखि ५ लाखसम्म र फर्मको लागि १ लाख देखि १० लाखसम्मको कृषि ऋणमा गाउँपालिकाले शतप्रतिशत अनुदान उपलब्ध गराउने भएको हो । त्यसको ब्याज गाउँपालिकाले नै तिरिदिने अर्थात् निःशुल्क ब्याजको रुपमा ऋण उपलब्ध गराउने छ । कार्यक्रमबाट युवाहरु गाउँमै स्वरोजगार बन्ने, कृषि उपजको अभाव नहँुने र सबै युवाहरु उत्पादनशील क्षेत्रमा खटिने विश्वास रहेको गाउँपालिका अध्यक्ष जिसीले बताए । उनले भने, ‘हाम्रो मुख्य उद्देश्य कृषिलाई व्यवसायिकरण, औद्योगिक क्षेत्रको प्रर्वद्धन, युवालाई गाउँ मै रोजगार दिने र गाउँपालिकालाई समृद्धतर्फ लैजाने हो, यसले विगतमा सञ्चलान गरेका कृषि सम्बन्धी कार्यक्रमहरुलाई टेवा पुग्ने छ ।’ गाउँपालिकाले कृषकहरुको लागि नयाँ–नयाँ कार्यहरु गर्दै आएको छ । गत आर्थिक वर्षमा गाउँपालिकाले कृषकहरुलाई अनुदानमा कृषि औजार समेत उपलब्ध गराएको छ । यस्ता कार्यक्रमबाट गाउँपालिका भित्रका कृषकहरु निकै उत्साहित देखिएका छन् । अहिले गाउँपालिका र कृषि विकास बैंक लिमिटेड, पालु·मैनादी शाखा बिच कृषि ऋण प्रवाह गर्दा ब्याजमा शत प्रतिशत अनुदान उपलब्ध गराउने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
कार्यक्रममा सहभागी हुन चाहाने इच्छुक कृषि उद्यमीहरूले गाउँपालिकाले आÞवान गरेको प्रस्तावमा निवेदन दिनुपर्नेछ । यस कार्यक्रम अन्तर्गत कृषकले न्यूनतम ५० हजारदेखि ५ लाखसम्म र कृषि तथा पशुपालन फर्मले न्यूनतम १ लाख देखि १० लाखसम्म कृषि ऋणको ब्याजमा २०७८ अषाढ मसान्तसम्म शतप्रतिशत अनुदान पाउने गाउँपालिकाका
प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए ।

प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update