Shittalpati
अनुदानको ट्याक्टरमा किसानबाट रकम उठाइँदै

तम्घास । गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले अनुदानमा दिएको ट्याक्टरबाट सप्लायर्सको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले किसानबाट रकम उठाएको खुलेको छ । आर्थिक वर्ष २०७६/७७ को कार्यक्रमअनुसार गाउँपालिकाले ३४ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको थियो । उनीहरुबाट प्रति ट्याक्टर एक हजार ५ सयका दरले सप्लायर्स कम्पनीले रकम असुली गरेको पाइएको छ । अनुदानको ट्याक्टर खरिदका लागि गाउँपालिकाको छनोटमा परेको सप्लायर्स कम्पनीले फिटिङ गरेको, तेल तथा यातायात खर्चको बहाना बनाएर किसानबाट रकम असुली गरेको स्थानीय किसान बाबुराम ज्ञवालीले बताए । “ट्याक्टर लिन जाँदा एक्कासी एक हजार ५ सयका दरले रकम मागियो, हामी त अचम्ममा पर्‍यौँ”, उनले भने, “विना रसिद त्यसरी किसानबाट रकम लिनु उचित होइन ।” त्यसभन्दा पहिले नै ट्याक्टरको ५० प्रतिशत मूल्य ३२ हजार ५ सय आफूहरुले बैंकमा जम्मा गरेको भन्दै उनले एक हजार ५ सय बुझाउनेबारे कुनै जानकारी नभएको बताए । यस्तै अर्का किसान सुब्बा बस्नेतले पनि सप्लायर्सले गैरकानूनी तरिकाले गाउँपालिकाका कर्मचारी र ठेकेदारको मिलेमतोमा किसानबाट रकम असुली गरेको गुनासो गरे । उनले भने, “ट्याक्टर लिन जाँदा एक्कासी पैसा मागे, खोजेर भए पनि दियौँ र ट्याक्टर ल्यायौँ ।” उक्त रकम किन र कुन प्रयोजनका लागि तिरेको भन्नेबारेमा आफू अझै पनि अनभिज्ञ भएको उनले बताए ।

ठेकेदार र गाउँपालिकाका कर्मचारीको मिलेमतोमा किसानबाट रकम उठाइएको भन्दै उनले तत्काल उक्त रकम फिर्ता गर्न र गैरकानूनी ढङ्गले रकम उठाउने माथि कारवाही गर्न माग पनि गरे । सप्लायर्स कम्पनीले ३४ जना किसानबाट प्रतिकिसान एक हजार ५ सयका दरले कूल ५१ हजार गैरकानूनी ढङ्गबाट असुली गरेको छ । गाउँपालिकाले आव २०७६/७७ मै ट्याक्टर वितरण गर्नुपर्ने थियो । त्यसो गर्दा उक्त ट्याक्टर खरिदबापतको भुक्तानी असार मसान्तसम्म मात्रै हुन्थ्यो तर सम्बन्धित सप्लायर्स र कर्मचारीको मिलेमतोमा साउनको तेस्रो हप्तामा मात्र किसानलाई ट्याक्टर उपलब्ध गराइएको स्थानीय युवा किसान पाण्डेले बताए । “ट्याक्टरका लागि आवश्यक ५० प्रतिशत रकम किसानले पहिले नै बुझाएका थिए”, उनले भने, “पछि बुझाउने रकमबारे पूर्वजानकारी पनि थिएन र रसिद पनि दिइएको छैन ।” गाउँपालिकाले गत आवको कार्यक्रमअन्तर्गत वडा नं १ मा दुई, २ मा आठ, ४ मा सात, ५ मा १२ तथा वडा नं ६ मा चार जना किसानलाई हाते ट्याक्टर प्रदान गरेको छ । उक्त अनुदानका लागि ११ लाख ५० हजार गाउँपालिका र त्यति नै रकम किसानले जम्मा गरेको गाउँपालिकाका सूचना अधिकारी ईश्वरी न्यौपानेले जानकारी दिए । गाउँपालिकाका जिन्सी शाखा प्रमुख मनिष पाण्डेले आफूहरुले सकेसम्म न्यूनदरमै किसानलाई ट्याक्टर उपलब्ध गराउन खोजेको तर पछि सप्लायर्स कम्पनीले रकम उठाएको प्रतिक्रिया दिए ।

ठेकेदारले मिस्त्री चार्ज, तेल र यातायात खर्चको बहानामा किसानबाट रकम उठाएको उनले बताए । यसमा आफूहरुको मिलेमतो नभएको र ठेकेदारले झुक्याएको उनले स्पष्ट पारे । गाउँपालिकाका अध्यक्ष नीकलण्ठ गौतमले ठेकेदारले किसानबाट रकम असुल गरेकोबारे आफूलाई अहिलेसम्म कुनै जानकारी नभएको प्रतिक्रिया दिए । उनले गैरकानूनी ढङ्गबाट त्यसरी रकम उठाउने सप्लायर्सलाई स्पष्टीकरण सोधिने र छानविनका क्रममा दोषी ठहरिए कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे । ट्याक्टर सप्लायर्स कम्पनी गिरिधरी कृषि मेसिनरी सप्लायर्सका सञ्चालक गिरिधरी चौधरीले आफूले गाउँपालिकाका कर्मचारीमार्फत किसानले पछि तिर्नुपर्ने शुल्कका बारेमा जानकारी गराएको बताए । ट्याक्टरको मोबिल, तेल, मिस्त्रीलगायत कामका लागि खर्च भएको रकम आफूले लिएको स्वीकार गरे । गाउँपालिकामा ‘कोटेशन’ दर्ता गर्दा नै पछि तिर्नुपर्ने शुल्क उल्लेख नगरेकाले आफूले अहिले रकम लिएको उनले प्रतिक्रिया दिए । –रासस

प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update