Shittalpati
विदेशको रोजगारी भन्दा, देशमै स्वरोजगारी बेस

जगदीश भट्टराई
तानसेन । विदेशमै पैसा कमाइन्छ, भन्ने सोंच आफैमा ठीक होईन भन्ने कुरालाई प्रमाणित गर्ने तयारीमा लागेका ३७ वर्षका पाल्पाली युवा मीनबहादुर आले अहिले रात दिन आफ्नो फार्ममा उन्नत जातका बाख्राको (विउ) नश्ल रेखदेखमै व्यस्त छन् । एक करोड ५० लाख भन्दा धेरै खर्च गरेर नश्ल सुधार र आधुनिक खोर निर्माण गर्नुका साथै व्यवसायिक सोंचले तयार गरेका घाँस उत्पादन, बाख्राको स्याहार र सम्हारका लागि तयार गरिएका विभिन्न नयाँ तरिका हेर्न र अवलोकन गर्न आउनेहरुको आकर्षण बढेको छ ।

तानपा–१२, बौघापोखराथोकका युवा व्यवसायी मीनबहादुर आलेले निर्माण गरेको बाख्रा फार्मको अवलोकन गर्दै प्रदेश सांसद वीरबहादुर राना ।

 

तानसेन नगरपालिका १२ बौघापोखराथोकका आलेले दुवई र साउदीमा रोजगारीका लागि चार वर्ष बिताए । उनलाई लाग्यो कि अब आफ्नै गाउँ ठाउँमा पनि नयाँ र आधुनिक तौरतरिकाबाट उन्नत जातका बाख्रा पालन गरियो भने स्वरोजगार बन्न सकिन्छ । उनले, लुम्बिनी एग्रो बोयर बाख्रापालन कम्पनी शुरु गर्ने निधो गरे । काम शुरु गरेको ६ वर्ष नबित्दै अहिले आले जिल्लाकै ठूलो बाख्रा फार्मका मालिक भएका छन् । उनी भन्छन्, ‘मैले अनुदान लिनका लागि भन्दा पनि, केही नयाँ कामबाट अरु युवाहरुमा उर्जा थपियोस् भन्ने सोंचले यो व्यवसाय शुरु गरेको हुँ, शुरुमा यो बहुलाएछ भन्नेहरु धेरै थिए, अहिले सबैले राम्रो गर्ने भयो भन्न थालेका छन् ।’

६ वर्षमा उन्नत जातका पाठा र पाठी गरेर ४० बटा बाख्रा विक्री गरी १५ लाखसम्म आम्दानी गरे पनि लगानी धेरै भएका कारण मुनाफा कमाउन भने अझै पाँच वर्ष लाग्ने युवा उद्यमी मीनबहादुरको आत्मविश्वास छ । उनी थप्छन्, ‘पाँच वर्ष भित्र यही व्यवसायबाट दर्जनौ युवाहरुलाई रोजगारी दिने गरी नयाँ तरिकाबाट लागि रहेको छु, सरकारले बजार र यसको प्रवद्र्धनका क्षेत्रमा जोड दिए पुग्छ, अब अनुदान भन्दा पनि अवसर र सीप अनि बजारीकरण नै ठूलो कुरा हो ।’ मीनबहादुरको खोरमा अहिले ६५ वटा बोयर जातका बाख्रा छन् । स्वदेशमै केही नयाँ र स्वरोजगारी काम गर्न थालेका युवाहरुलाई आवश्यक पर्ने सीप र व्यवसायिक क्षमता अभिवृद्धिमा स्यानीय, प्रदेश र संघीय सरकारको योजनाले मीनबहादुरलाई छुन नसक्नु आफैमा विडम्वना भएको प्रदेश सांसद बीरबहादुर रानाले गुनासो गरे । सांसद रानाले भने ‘प्रदेशमा कृषि र पशुपालनका क्षेत्रमा बजेट छ तर यस्ता उद्यमशील युवाहरुको त्यो स्थानसम्म पहुँच कसरी अभिवृद्धि गर्ने भन्ने नयाँ साँेच नभएका कारण नै उद्यमशील युवाहरु पलायन हुन बाध्य भएका हुन् ।’ बाख्रापालनको क्षेत्रमा काम गर्दै आएको हेफर इन्टरनेश्नल नेपालले आले जस्ता उद्यमी युवाहरुका लागि आर्थिक, प्राविधिक सहयोग गर्दै आएको हेफर इन्टरनेश्नल नेपाल पाल्पाका कार्यक्रम अधिकृत शोभाखर न्यौपानेले बताए । उनले सुरुवातमा युवा उद्यमी आलेले पारिवारीक सदस्य आवद्ध रहेको हेफर इन्टरनेश्नलकै कार्यक्रम अन्तर्गत मिलनसार सामाजिक उद्यमी महिला सहकारी मार्फत दुई लाख र पछि बोयर बोका पालनका लागि दुई लाख ५० हजार ऋण लिएर व्यवसाय सुरु गरेको दावा गरे ।

स्थानीय युवा मेजरसिं केसी भन्छन्, ‘युवा स्वरोजगारका विभिन्न कार्यक्रम भएपनि त्यसको सही कार्यान्वयन हुन सकेको छैन, यही नै सबैभन्दा ठूलो समस्या हो, मीन जस्ता युवाहरुको पहिचान गरेर सरकारले नयाँ कार्यक्रम कार्यान्वयन नगर्दासम्म समस्या जहाँको त्यही रहन्छ ।’ अर्का स्थानीय युवा कृष्ण आले भन्छन्, ‘एक गाउँ एक स्वरोजगार युवा कार्यक्रम व्यवहारिक रुपमा कार्यान्वयन गर्ने हो, भने मात्र युवाहरु दीगो स्वरोगार हुन सक्छन्, मुलुक आत्मनिर्भर बन्न सक्छ, अन्यथा केवल भाषणमा मात्र सिमित भएर केही गर्न सकिदैन ।’ व्यवसायिक फार्महरुलाई आगामी वर्षदेखि आवश्यक सहयोग र तालिम तथा बजारीकरणको व्यवस्था मिलाउने तयारी तानसेन नगर सरकारबाट भएको पशुसेवा शाखाका प्रमुख दानबहादुर कुंवरले स्पष्ट पारे । उनले भने ‘त्यस्ता व्यवसायिक फार्महरुले उत्पादन गरेका नश्लहरु मध्ये बोयर जातका ५० प्रतिशत शुद्ध नश्ल हामीले खरीद गरेर कृषक तथा व्यवसायिक फर्म सञ्चालन गर्नेलाई अनुदान दिने कार्यक्रम ल्याउन लागेका छौं ।’

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update