Shittalpati
गुल्मी इस्माका युवा जुटे प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन

रमेश विश्वकर्मा
गुल्मी । नेपाल कृषि प्रधान देश भएपनि अझै कृषिमा आत्मनिर्भर हुन सकिरहेको छैन । परम्परागत कृषि व्यवसायीलाई आधुनिकिरण गर्न नसक्दा कृषिमा आत्मनिर्भर हुन नसकिरहेका बेला जिल्लाका केही युवाहरु भने प्रदेशलाई कृषिमा आत्मनिर्भर गराउने अठोट सहित अगाडि बढेका छन् । कृषिका लागि उर्वर मानिने प्रदेश पाँचलाई कृषिमा आत्मनिर्भर गराउने गरी जिल्लाका केही युवाहरु लागि परेका हुन् । इस्मा गाउँपालिका ३ खासीचौरका बेरोजगार युवाहरु प्रदेशलाई नै कृषिमा आत्मनिर्भर गर्ने गरी कृषि व्यवसायीतर्फ आकर्षित भएका छन् । रोजिरोटी गर्नका लाग विदेशिनु भन्दा आफ्नै माटोमा उद्यम गरी कृषिलाई विस्तार गर्न सके मनग्य आम्दानी गर्न सकिने भन्दै युवा कृषिमा आकर्षित हुन थालेका हुन् । खासीचौरका तीन जना युवाहरु मिलेर एक करोड लगानीमा वेरु एग्रिकल्चर फार्म सञ्चालन ल्याउने गरी काम अगाडि बढाएका छन् ।

स्थानीय २१ वर्षका गोकर्ण नेपाली, १९ वर्षका लक्ष्मण चालिसे र ३१ वर्षका सुनिल पौडेलले सामूहिक रुपमा कृषि फार्म सञ्चालनमा ल्याउन लागेका हुन् । प्रदेशलाई मासु र कृषि उपजमा आत्मनिर्भर बनाउने भन्दै आफुहरुले गाउँ मै लगानी गरेर कृषि फार्म सञ्चालनमा ल्याउन लागेको फार्म सञ्चालक गोकर्ण नेपाली बताउँछन् । उनी भन्छन् ‘हामीहरुले २ सय ६१ रोपनी जग्गामा फार्म सञ्चालन गरेका छौं । १ सय ३१ रोपनी जग्गामा १५ वर्षको लागि लिजमा लिएका हौं, बाँकी १ सय ३० रोपनी जग्गा हामी ३ जनाको निजी नै हो ।’ उनीहरुले कृषि फार्म गत वर्ष माघ महिनाबाट सञ्चालन गरेका हुन् । आउँदो कार्तिक महिनाको अन्तिमसम्म फार्मको सम्पूर्ण काम सकिने उनीहरु बताउँछन् । प्रदेश पाँच कृषिका लागि उपुक्त स्थान भएकाले पनि आफुहरु व्यवसायिक कृषितर्फ आकर्षित भएको उनीहरुको भनाई छ । उनीहरुले कृषि फार्मसँगै त्यसलाई रिसोर्टको रुपमा पनि सञ्चालन गर्ने योजना बनाएका छन् । नाफामूलक व्यवसाय मात्रै होइन, देशमै धेरैलाई रोजगारी सिर्जना गराउनु पनि हाम्रो मुख्य ध्येय रहेको अर्को सञ्चालक लक्ष्मण चालिसे बताउँछन् । कृषि फार्ममा अहिले मात्रै ३० प्रतिशत काम भएको छ । फार्ममा १ हजार भन्दा बढी वोयर जातका बाख्रा, ८ सय भन्दा बढी लोकल जातका खरी बाख्रा, हजारौंको संख्यामा कालिज, बोइलर तथा लोकल कुखुरा राखिने सञ्चालक चालिसेले बताए । फार्ममा २८ जातका घाँसहरु पनि रहेका छन् ।

जिल्लाका सबै स्थानीय तहलाई घाँस पुर्‍याउने उनीहरुले बताएका छन् । यो वर्षको सुरुवाती चरणमा नै १ लाख ८० हजार बराबरको घाँस विक्री गरिएको बताईएको छ । त्यस्तै फार्ममा विभिन्न प्रकारका माछाहरु पनि रहने छन् । उनीहरुले २५ हजार माछा अटाउने गरी माछापोखरी समेत निर्माण गरिसकेका छन् । कृषि प्राविधिक शिक्षा समेत हाँसिल गरेका फार्मका मुख्य सञ्चालक गोकर्ण नेपालीले आफुसँग प्राविधिक ज्ञान हुँदा फार्म सञ्चालनमा सहयोग पुगेको बताए । उनले भने, ‘चितवनमा गएर कृषि प्राविधिक शिक्षा हासिल गरे, अनि पढाईको सदुपयोग गर्नुपर्छ भन्दै साथीहरुको साथ लिएर कृषि फार्म सञ्चालनमा लागेको हुँ ।’ तीनै जनालाई यो फार्ममा बुबाआमाले सहयोग गरिरहेको उनीहरु बताउँछन् । कृषि तथा पशु क्षेत्रमा हुने विचौलियाहरुको अन्त्य गरेर अघि जाने अठोट रहेको उनीहरुले बताए । त्यसको लागि उनीहरुले जिउँदो खसी बोका नबेचेर ठाउँ–ठाउँमा आफै मासुपसल खोल्ने योजना बनाइरहेको बताए । कृषि फार्मका तीनै जना सञ्चालकहरुले नै आफुहरुलाई सरकारी अनुदान नचाहिने बताए । हामी आफ्नो लगानीबाट नै कृषि कर्म गरेर केही गर्ने छौं, अहिलेलाई हामी सरकारी अनुदानको आशा नगरेको उनीहरुले बताए । कृषि फार्ममा सञ्चालक सुनिल पौडेल भारतीय सेनाको जागिर छोडेर कृषि फार्ममा लगानी गरिरहेका छन्, भने अर्का सञ्चालक लक्ष्मण चालिसे गएको चैत्र महिनाको सुरुवातीमा विदेश जान तयारी अवस्थामा थिए । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण भएको लकडाउनले उनी विदेश जानबाट रोकिएका थिए । उनी पनि फार्म मै लगाानी गरेका छन् । यस कृषि फार्मका मुख्य सञ्चालक गोकर्ण चित्रकार समेत हुन् । उनले नेपालका चर्चित व्यक्तिहरुको स्केच कोरिसकेका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update