Shittalpati
किसानलाई धान रोप्ने चटारो, गुल्मीमा सकियो ५० प्रतिशत रोपाइँ

रमेश विश्वकर्मा
गुल्मी । कोरोना जोखिमका बीच यहाँका किसानलाई रोपाइँको चटारो परेको छ । असार महिना सकिनै लाग्दा जिल्लामा करिब ५० प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ भएको छ । मकैबाली ढिला पाक्ने खेतहरुमा रोपाइँ हुन बाँकी रहेकाले अहिलेसम्म करिब ५० प्रतिशत धान रोपाइँ भएको हो । यतिबेला गाउँ –गाउँका कृषकहरूलाई रोपाइ गर्न भ्याईनभ्याई छ । जिल्लामा अझै ५० प्रतिशत रोपाई गर्न बाँकी रहेको छ । हरेक वर्ष साउनको पहिलो सातापछि रोपाइँ शुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै रोपाइँको भएको हो । यस वर्ष मनसुन सक्रिय हुनुअघि नै पर्याप्त वर्षा भएपछि कोरोनाको त्रास र लकडाउनबीच असार लाग्न साथ शुरु भएको रोपाइँको काम ५० प्रतिशत सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । मानो छरेर मुरी उब्जाउने समय भएकाले पनि किसानहरु यतिबेला रोपाइँमा व्यस्त रहेका हुन् । विश्वरभर कोरोना महामारीको त्रास रहे पनि कोरोनाको त्रासलाई छिचोल्दै जिल्लाका किसान रोपाइँमा व्यस्त छन् । दुई नगारपालिका र दश गाउँपालिकामा अहिलेसम्म करिब ५० प्रतिशत धान रोपाई भएको कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए । उनले मकैबाली ढिला पाक्ने खेतहरुमा रोपाइँ हुन बाँकी रहेको बताए । गत वर्ष समयमै पानी नपरेकाले कृषकहरुले धान रोपाइँ ढिला शुरु भएपनि यस वर्ष भने समयमै मनसुन भएकाले कृषकहरु हर्षित भएका छन् ।

जिल्लामा ८५ हजार ६ सय ७० हेक्टर जमिन खेतियोग्य छ । हालसम्म ४ हजार ६७ हेक्टर क्षेत्रफलमा धान रोपाइ सकिएको घिमिरेले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा ९ हजार ४ सय ५८ हेक्टरमा धान रोपाइँ भएको थियो ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले धेरै मानिसहरु विदेशबाट स्वदेश अर्थात आफ्नो घर फर्किएका छन् । बेरोजगार रहेका युवाहरु यतिबेला धान खेतितर्फ केन्द्रित छन् । यसले गर्दा धान उत्पादन हुने क्षेत्रफलमा समेत वृद्धि हुने घिमिरेले बताए । समयमै पानी परेकाले पनि कृषकहरुले समयमै धान रोपाइँ गरेका हुन् । यस वर्ष साउन महिनाभर सबै ठाउँमा रोपाइँ सकिने घिमिरेले बताए । जिल्लामा हालसम्म करिब १० हजार क्षेत्रफलमा सिंचाईको सुविधा रहेको छ । ३ हजार ६ सय क्षेत्रफलमा वर्षभरी नै सिंचाइको व्यवस्था रहेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सनबहादुर रानाले बताए । उनले बाँकी क्षेत्रफलमा अर्ध सिंचाईको व्यवस्था भएको बताए । जिल्लामा उन्नत जातका खुमल–४, खुमल–६, खुमल–१०, मकवानपुर–१, रामधान, लोकतान्त्रिक, हिमाली धान लगाइन्छ ।

स्थानीय जातका हंसराज, मानोमुरी, हावा, मार्सि, लामी, जडन, जुवा, अनदी, काठे मार्सि जातको धान कृषकहरुले लगाउँदै आएका छन् । त्यस्तै हाइब्रिड अन्र्तगत यु.एस–३१२ र शंकर जातको धान लगाउँदै आएका छन् । चैते धान अन्तर्गत चन्दीना र सि.एच–४५ जातको धान कृषकहरुले लगाउँदै आएको रानाले बताए । जिल्लाका १२ वटै स्थानीय तहमा धान खेती गरिँदै आएको छ । ईस्मा गाउँपालिकाको चौरासी फाँट, किसानटारी, अर्जेवेशी, रोधीअरौदी, छल्दी, छिनुवा, चाँपटारी, गुर्वा निस्ती ढाणवेंशी, खहरे थापाचौर फाँटमा धान खेती गरिदैँ आएको छ । त्यस्तै मुसिकोट नगरपालिकाको वामीफाँट, दानसिङफाँट, कुर्घा भुवाचिदिफाँट, आपचौरफाँट, सङकौल, पौदी अमराई, दिगामचौर, पौदीअरेवा फाँटमा धान खेती हुँदै आएको छ । चन्द्रकोट गाउँपालिकाको शान्तीपुरफाँट, हरेवा, दम्कासोता, तुराङफाँटमा धान खेती हुँदै आएको छ । त्यस्तै सत्यवती गाउँपालिकामा अश्लेवाफाँट, अरुङ्गा फाँट, साहाघाट, चेमी वहादी, लिम्घा फाँट, कालिगण्डकी गाउँपालिकाको अर्वेनी फाँट, हर्मिचौर, पूर्तिघाट, चापचौर, कोरेङफाँट, फोक्सिङ फाँट, जुखुमचौर, जयखानी, बेल्टारी, फोक्सिङको लमकरा, भुर्तुङ्गकोट, छापचौर, हर्मिचौरको दिङफाँट, रुरु क्षेत्र गाउँपालिकाको घिउँवेशी, बोहाफाँट, रिमुवा, टाहाटिमफाँट, ग्वादी वेशीका चौर फाँट, एक्लेपिपलफाँट, मदाने गाउँपालिकाको निउरेफाँट, आठचौरफाँट, गडेराफाँट, बडाचौर, गैरीखेत, सुर्यटारी फाँट, छत्रकोट गाउँपालिकाको खज्र्याङफाँट, मनभागफाँट, अर्घाँफाँट, वोहाफाँट, दिगामको जेर्दी फाँटमा धान खेती हुँदै आएको छ । त्यस्तै गुल्मीदरबार गाउँपालिकाको कुमालटारी, अमरअर्वाथोक तलको फाँटमा धान खेती गरिन्छ । रेसुङ्गा नगरपालिकाको अर्खलेको रैदीफाँट, सावुनेटारी फाँट, पारमटारी फाँट,धुर्कोट गाउँपालिकामा गानटारी, धर्नार्जी फाँट, सिमलटारी, कुमलटारी, मानचौर, किट्नीका गौराखेत फाँट,मालिका गाउँपालिकामा विधिखोलाको फाँट, मिलटारी, किसानटारी, अर्जेको फाँटमा धान खेति हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update