Shittalpati
खुर्सानी र टमाटर बारीमै कुहिँदा कृषक चिन्तित

रामचन्द्र रायमाझी/रमेश विश्वकर्मा
गुल्मी । बारीमा लगाएको खुर्सानी र टमाटर बारीमै कुहिँएपछि पाल्पा र गुल्मीका कृषक चिन्तित बनेका छन् । बारीमा लगाएको टमाटरमा किरा लाग्नु र बजारमा लैजानका लागि तयारी भएको खुर्सानीले बजार नपाई बारीमै कुँहिदा कृषक चिन्तित बनेका हुन् । खुर्सानीबाट मनग्य आम्दानी गर्ने सपना बुनेका पाल्पाका कृषक लकडाउनका कारण बजार नपाउँदा खुर्सानी बारीमै कुहाउन बाध्य छन् । बारीभरी खुर्सानी लगाएर हातभरी पैसा समाउने अभिलाषा राखेर परम्परागत खेती प्रणाली छाडेर व्यवसायिक खुर्सानी खेतीमा लागेका कृषकहरु उचित बजार नपाउँदा समस्यामा परेका छन् । कोरोना महामारीका कारण सरकारले जारी राखेको लकडाउनका कारण यातायातका साधन सञ्चालन हुन नसक्नु र पर्याप्त मात्रमा बजारहरु नखुल्दा कृषकहरुले उत्पादन गरेका तरकारीहरु बारीमै कुँहिन पुगेको हो ।

बगनासकाली गाउँपालिका चिर्तुङ्गधाराकी ईश्वरीकला झेडीको बारीभरी खुर्सानी छ । तर ति खुर्सानी टिपेर बजार लैजान न गाडी छ न त बजारमा उचित मूल्य नै पाइन्छ, जसले गर्दा बारीमा कुहिँन पुगेको झेडी बताउँछिन् । ईश्वरी मात्र होइन जिल्लाका धेरै कृषकहरुको समस्या यस्तै छ । स्थानीय सरकारले कृषकहरुलाई आत्मनिर्भर गराउनका लागि खुर्सानीको पकेट क्षेत्रका रुपमा विकास गर्न लागेपछि जिल्लाका झण्डै एक हजार रोपनी क्षेत्रपलमा व्यवसायी खुर्सानी खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले बताए । कृषकहरुले तरकारी उत्पादन गरे तर बजारको समस्याका कारण कृषकहरु मारमा परेको उनी बताउँछन् । पछिल्लो समयमा नगदेबालीका रुपमा स्थापित हुन लागेको खुर्सानी खेतीबाट राम्रो आम्दानी लिनका लागि कृषकहरुले उन्नत जात, हाइब्रिड जातको बिउ प्रयोग गरेका छन् । यस वर्ष बजारीकरणको समस्या आएको स्थानीय सरकारका कृषि प्राविधिकहरु बताउँछन् ।

जिल्लाको बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउपालिकाले खुर्सानीको पकेट क्षेत्र बनाएर अगाडि बढेका छन् । माथागढी झडेवाका कृषक देवबहादुर चिदी पनि यो वर्ष मकै नलगाएर खुर्सानी लगाएको बताउँदै यो वर्ष ठूलो परिमाणमा लगाएको खुर्सानी बारीमा सड्ने अवस्था आएको बताए । त्यस्तै बारीमा टमाटर कुहिँदा गुल्मीका कृषकहरु पनि चिन्तित भएका छन् । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका कृषकहरुले लगाएको सबै टमाटर कुहिँएपछि कृषकहरु चिन्तित भएका हुन् । कृषकहरुले लगाएको सबै टमाटर कुहिँदा कृषकहरु चौपटमा परेको बताईएको छ । गाउँपालिकाले सञ्चालन गरेको कोभिड कृषि कार्यक्रम अन्तर्गत कृषकहरुले गरेको विभिन्न कृषि खेती मध्ये टमाटर खेती पनि एक हो । तर अहिले टमाटरहरु कुँहिदै गएको कृषकहरुले बताएका छन् । ‘बाहिरबाट हेर्दा राम्रो देखिने तर भित्र काटेर हेर्दा पुरै टमाटर कुहिएको छ ।’

कृषक लालबहादुर विष्टले भने, ‘टमाटर खेती वरिपरी स–साना किराहरु घुम्छन ती किराहरुकै कारण टमाटर कुहिएको आशंका गरेका छौं ।’ त्यस्तै अर्का कृषक टेकबहादुर कुँवरले चिन्तित हुँदै भने, ‘धेरै लगानी लगाएर दुईवटा टनेलमा गरेको खेती चौपट भयो, आश सबै म¥यो । अब गाउँपालिकाले कोभिड कृषि कार्यक्रम अन्तर्गत अनुगमनमा आउँदा के देखाउने भनेर पनि कृषकहरु चिन्तितमा छन् ।’ हामीले धेरै घरेलु उपाए अपनायौं तर कुनै पनि सुधार नआएको कृषकहरुले बताएका छन् । यसबारे गाउँपालिकाको कृषि शाखालाई कृषकहरुले जानकारी गराएको तर गाउँपालिकाले कुनै व्यवस्था नगरेको कृषकहरुको गुनासो रहेको छ । टमाटरको बिरुवा उम्रने बेला नै स्याहार सुसार तथा बिरुवाको पात र फुलमा किटनाशक औषधी छर्कनु पथ्र्यो, अहिले छर्केर कुनै सुधार नहुने अग्लुङ्गका पशु तथा कृषि प्राविधिक बोम बहादुर खत्रीले बताए । उनले टमाटर खेती मलखाद जस्ता किरा आउने ठाउँ नजिक नगर्न सुझाव दिएका छन् । यो समस्याको लागि वडाबाट गाउँपालिका कृषि शाखामा कुरा अगाडि बढाएर समाधान खोजिने प्राविधिक खत्रीले बताए ।

प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update