Shittalpati
कोरोनालाई छिचोल्दै रोपाइँमा व्यस्त किसान, पाल्पामा सकियो ५० प्रतिशत रोपाइँ
अन्नको भण्डारका रुपमा रहेको माडीफाँटमा धान रोप्दै किसान । –तस्वीर ःप्रकाश नेपाल/नवजनचेतना राष्ट्रिय दैनिक

रामचन्द्र रायमामझी
पाल्पा । कोरोना जोखिमका बीच यहाँका किसानलाई रोपाइँको चटारो परेको छ । हरेक वर्ष साउनको पहिलो सातापछि रोपाइँ शुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै रोपाइँको भएको हो । यस वर्ष मनसुन सक्रिय हुनुअघि नै पर्याप्त वर्षा भएपछि कोरोनाको त्रास र लकडाउनबीच असार लाग्न साथ शुरु भएको रोपाइँ ५० प्रतिशत सकिएको छ । विगतका वर्षझैँ रोपाइँ ढिलो हुने सोचले ढिलो बीउ राखेका जिल्लाका किसानले खेतमा पानी भरिएपछि छोटो बीउसमेत रोप्न थालेका छन् । मानो छरेर मुरी उब्जाउने समय भएकाले पनि किसानहरु यतिबेला रोपाइँमा व्यस्त रहेका हुन् । विश्वरभर कोरोना महामारीको त्रास रहे पनि कोरोनाको त्रासलाई छिचोल्दै किसान रोपाइँमा व्यस्त रहेका हुन् । जिल्लाका विभिन्न स्थानका किसानहरु धान रोपाइँमा व्यस्त देखिन्छन् । विशेषगरी अन्नको भण्डारको रुपमा लिइने तानसेनको माडी फाँट, अर्गेली, रम्भा गाउँपालिकाको हुँगी, हेक्लाङ, रामपुरको रामपुर फाँट, पूर्वखोलाका केही फाँट, निस्दी गाउँपालिकाको ढु·नावेसी, तिनाउ गाउँपालिकाको कचल, झ्याङ्ला, रिब्दीकोट र रैनादेवी छहराका तल्ला फाँटहरुमा धान खेती गरिदै आइएको छ । जिल्लामा ९ हजार ३ सय २५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले बताए ।

असार १८ गतेसम्मको डाटा अनुसार जिल्लामा ५० प्रतिशत रोपाइँ सकिएको प्रमुख अर्यालले जानकारी दिए । उनका अनुसार रामपुर नगरपालिका क्षेत्रमा ढिला रोपाइँ भएकाले २ प्रतिशत, पूर्वखोला गाउँपालिकामा २० प्रतिशत, माडीफाँटमा ६० प्रतिशत, माथागढी गाउँपालिकामा ७० प्रतिशत, तिनाउ गाउँपालिकामा ८० प्रतिशत रोपाइँ सकिएको छ । यसवर्ष समयमै पानी परेकाले छिटो रोपाइँ भएको हो । लकडाउनका कारण मानिसहरु शहरबाट गाँउ केन्द्रीत हुँदा कामदारको समस्या नहुनु, मनसुनी वर्षा समयमै हुनु, कृषिमा बढ्दो यान्त्रिकरणको प्रयोगले गर्दा पनि रोपाइँ छिटो भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सिंचाइको दिर्घकालिन व्यवस्था नभएको माडी फाटमा भने आकासे पानीको भरमा रोपाइँ गर्नुेपर्ने बाध्यता रहेको छ ।यसवर्ष भने असारको सुरुमै पर्याप्त पानी परेकाले ६० प्रतिशत रोपाइँ सकिएको छ । विगतका वर्षमा गोरुले जोत्ने र हिल्याउने काम गर्दा ढिला सुस्ती हुन्थ्यो, तर आजभोलि गोरुको काम ट्याक्टरले गर्न थालेपछि रोपाइँ छिटो भएको कृषक लीलाप्रसाद बस्याल बताउँछन् । विगतका तुलनामा यसवर्ष पानी समयमै परेकाले रोपाइँ १५ दिन अगाडि नै सकिएको माथागढी ३ का वुद्विबहादुर कुमालले बताए । उनले भने ‘लकडाउनका कारण परिवारका सदस्य एकै ठाउँमा भएको र पानीको समस्या नभएकाले १० रोपनी खेतको रोपाइँ छिट्टै सकिएको हो ।’
प्रभासका अर्को किसान शिशिर भट्टराईले कोरोनाको डरलाई हटाएर खेतको काममा सबै व्यस्त भएको बताए । उनले ‘लकडाउनले यसवर्ष रोपाइँलाई धेरै सजिलो बनायो, वर्षा पनि असारमै शुरु भयो, असारमै आली लगाएर खेतभरी पानी जमाउन पाइयो, सबै बन्द भएकाले घरभरी भएका मानिस पनि रोपाइँमा जान पाइयो, रोपाइँमा यस वर्ष लकडाउनले सजिलो बनायो ।’ जिल्लाको दोस्रो मुख्य बालीका रुपमा स्थापित धान खेती यसवर्ष समयमा नै रोपाइँ हुँदा उत्पादन समेत राम्रो हुने कृषकहरु बताउँछन् । विगतमा बाँझो रहेका खेतहरुमा समेत यसवर्ष रोपाइँ भएको छ । विश्वभर फैलिएको कोरोना महामारीका कारण घर छोडेर बाहिर गएका व्यक्तिहरु गाउँ फर्किएका र जिल्लाका केहि स्थानीय सरकारहरुले जमिन बाँझो राख्न नपाइने नीति बनाएका कारणले पनि बाँझा खेतहरुमा धान रोपाइँ भएको हो ।

प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update