Shittalpati
रामपुरको बाँदर प्रभावित टोललाई कालीगण्डकी फाउण्डेशनले दियो बाँदर धपाउने यन्त्र

इमान सिं राना

पाल्पा (रामपुर) । रामपुर नगरको माथिल्लो भाग तथा फाँटको जंगल संग जोडिएका बस्तीहरुको कृषकका लागि कालीगण्डकी फाउण्डेशन नेपालले बाँदर धपाउने यन्त्र वितरण गरेको छ । कृषकले उत्पादन गरेका अन्नबाली, तरकारी तथा फलफुल बाँदर आतंकले सखाप पार्न थाले पछि समस्यामा रहेका कृषकहरुको सहजताको नगरका वडाहरु संग समन्वय गरी वितरण गरेको हो । रामपुर ५ बेझाँडका जायश्वर पाण्डे र तिर्थ पाण्डे दाजुभाईले तयार गरेको उपकरण नगरपालिका संग समन्वय गरी फाउण्डेशनले बाँदर प्रभावित टोलमा एक एक वटाको दरले वितरण गरेको हो ।

पाण्डे दाजुभाईले साढे २ फिट लामो ४ इन्च र ३ फिट लामो २. ५ इन्चको पिभिसी पाईप जोडेर तयार गरेको उपकरण केही समय अघि इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र नगरपालिकाको रहोवरमा परीक्षण गरिएको थियो । परिक्षण पश्चात थप निर्माण गर्न लगाई फाउण्डेशनले नगरपालिका संग समन्वय गरी कृषकहरुलाई वितरण गरेको हो । पहिलो चरणमा शुक्रबार फाउण्डेशनको कार्यालय रामपुर ५ नहर अफिसमा कार्यक्रम गरी वडा नं. १, ३, ४, ५ र ७ का कृषकहरुलाई वितरण गरिएको छ ।

कृषकहरुलाई यन्त्र हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विगतका वर्ष देखि बाँदर आतंक रोक्न नगरले बजेट विनियोजन गरे पनि उपयुक्त सामाग्री खरिद गर्न नसकिएको बताए । उनले स्थानीय युवाहरुले तयार गरेको यन्त्रले कृषकहरुलाई राहत मिल्ने विश्वास लिए । फाउण्डेशनले गरेका कामको प्रशंसा गर्दै नगर प्रमुख थापाले कृषकहरुलाई यन्त्रको सहिसदुपयोग गर्न आग्रह गरे । थापाले नगरपालिकाले यन्त्रहरुको प्रयोगको अवस्था, प्रभावकारीता बारे नगरले निगरानी राख्ने बताए । साथै थापाले बाँदर आतंक नियन्त्रणका लागि नगरपालिकाले आवश्यक कदम चाल्ने बताए ।

नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले कृषकहरुले विगत देखि पशु चौपायाको सिङ, पाईप फुकेर वा भाँडा बजाएर धपाउने प्रयास गरेकोमा यस उपकरणले थप टेवा पुग्ने बताए । कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले युवाहरुले कृषकहरुको सहजताको लागि गरेको प्रयास अति सह्रानीय रहेको बताए । कार्यक्रममा डिजिटल माध्यम बाट जोडिएका कालीगण्डकी फाउण्डेशनका सल्लाहाकार सन्दिप रानाले पुस्तौ देखि झेल्दै आएको समस्या समाधानमा केही हद सम्म राहत मिल्ने बताए । उनले विदेश पलायन भैरहेका युवा पछिल्लो समय गाउँ फर्किने क्रम बढेको भन्दै उनीहरुलाई कृषिमा व्यवसायिक बन्न यन्त्र उपकरणले थप उत्प्रेरणा जगाउने बताए ।

कार्यक्रममा यन्त्र निर्माण गर्ने युवा जायश्वर पाण्डेले उपकरणको प्रयोग र प्रभावकारीताका बारेमा बताएका थिए । रामपुर ७ का कृषक कर्ण लुईटेलले माथिल्लो भागको बस्ती पातलिदै जाने र बनहरु बढ्दै जाँदा बाँदर लगायत अन्य वन्यजन्तुले निकै सास्ती दिने गरेको बताए । उनले उपकरणले केही भए पनि राहत मिल्ने विश्वस लिएको बताए । सो उपकरणमा केरा तथा विभिन्न फलफुल पकाउन प्रयोग गरिने ‘क्याल्सियम कार्बाेहाईड’ र पानीको मिश्रण राखेर पछाडीबाट ग्यास लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किदा बाँदर भाग्ने विश्वास लिईएको छ ।

फाउण्डेशनले पहिलो चरणमा ५० वटा र पछि ५० वटा गरी एक सय यन्त्र वितरण गर्न लागेको संस्थाका उपाध्यक्ष पवित्रा पौडेल ढकालले बताईन् । उनीहरलाई यन्त्र संगै केही ‘क्याल्सियम कार्बाेहाईड’ र ग्यास लाईटर पनि प्रदान गरिएको छ । कार्यक्रमको अवसरमा उपकरण तयार गर्ने जायश्वर पाण्डे र तिर्थ पाण्डे दाजुभाईलाई दोसला ओढाई सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष ढकालको अध्यक्षतामा भएको वितरण कार्यक्रम सदस्य सञ्जु परियारको स्वागत र सचिव सीता डोटेलको सञ्चालनमा भएको हो ।

प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update