Shittalpati
सामूहिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै महिला

हिमलाल पराजुली

स्याङ्जा, वालिङ नगरपालिका–१० स्थित बर्तुङ र राङ्दीका महिला सामूहिक तरकारी खेती गरेर आत्मनिर्भर बन्दै गएका छन् । गह्रौकालिका नागरिक सचेतना केन्द्रमा आबद्ध महिलाले सामूहिक तरकारी खेती थालेपछि उनीहरू आत्मनिर्भर बन्दै गएका हुन् । उनीहरुले २० रोपनी जमिनमा तरकारी खेती गरेका छन् । समूहमा आबद्ध महिलाले मौसमअनुसारको तरकारीका साथै काँक्रा, अदुवा, मुला, धनियाँ, बोडी, आलु लगाउने गरेका छन् ।

समूहकी सदस्य पेमा सुवेदीले महिलाले आफैँ आत्मनिर्भर बन्नुपर्छ भनेर सामूहिक तरकारीखेती गरेको बताए । उनले भने, “तरकारी खेतीबाट भएको आम्दानीले आफूलाई चाहिएको सामान किनमेल गर्नाका साथै घर खर्चसमेत चलाउन सहज भएकाले महिलाले सामूहिक तरकारी खेती थालेका छन् ।” आम्दानी राम्रो हुन थालेपछि सामूहिक तरकारीखेतीतर्फ महिलाको आकर्षण बढ्दै गएको उनको भनाइ छ । समूहमा आबद्ध भएर काम गर्दा सहज हुने भएकाले आफूहरु समूहमा आबद्ध भएर काम गरेको समहकी अध्यक्ष दुरबली एसकेले बताए ।

उनले भने, “हामीलाई तरकारीखेतीका लागि आवश्यक पर्ने बीउबिजन वडा कार्यालयले दिने गरेको छ । हामीले उत्पादन गरेको तरकारी बेचेर त्यसबाट भएको आम्दानी समूहमै जम्मा गर्ने गर्छौं । वडा कार्यालयले विद्यालयको जग्गा भाडामा लिएर हामीलाई तरकारी खेती गर्न दिएको छ, यो सहयोगले महिलालाई पनि केही गर्नुपर्छ भनेर उत्साहित बनाएको छ ।”वडा सदस्य लुकमाया एसकेले महिला एकजुट भएर समूहमा काम गर्दा बाँझो जमिनको पनि सदुपयोग हुने र आयआर्जन पनि गर्न सकिने भएकाले आफू पनि समूहमा आबद्ध महिलासँगै काम गर्ने गरेको बताए ।

एक्लाएक्लै काम गर्दाभन्दा समूहमा काम गर्दा सहज हुने भएकाले महिला उत्साहित भएको उनको भनाइ छ । वडाले पूर्णामृत भवानी माध्यमिक विद्यालयको करिब ३० रोपनी जग्गा वार्षिक रु ५० हजार भाडामा लिएर गह्रौकालिका सचेतना केन्द्रमा आबद्ध दलित तथा आर्थिक अवस्था कमजोर भएका महिलालाई सामूहिक रुपमा तरकारीखेती गर्नका लागि निःशुल्क उपलब्ध गराएको वडाध्यक्ष अनन्तराज गैरेले बताए । उनले भने, “वडालाई फलफूल र तरकारीमा आत्मनिर्भर बनाउने योजनाका साथ समूहमा काम गर्न चाहनेलाई हामीले सहयोग गर्दै आएका छौँ । समूहले उत्पादन गरेको तरकारीलगायत फलफूल बिक्री नभएको वडा कार्यालयले खरिद गर्छ, किसानलाई मर्का पर्न दिन्नौँ ।”

वडा कार्यालयले बीउबिजनका साथै प्राविधिक सहयोग र सिँचाइको समेत व्यवस्था मिलाइदिएपछि समूहमा आबद्ध भएर तरकारी खेतीको शुरुवात गरेका महिला थप उत्साहित भएका छन् । विद्यालयको बाँझो रहेको जमिनमा खनजोत गरेर तरकारी खेती शुरुवात गरेका महिलाले अहिले १५ रोपनी जग्गामा खेती गरेका छन् भने अरु जमिनमा रहेको घाँससमेत बिक्री गर्ने योजना रहेको समूहकी सदस्य पेमा सुवेदीले बताए । अहिले यहाँ आधुनिक तरिकाले बोडी, करेला, भिन्डी, लौका, फर्सी, भन्टा, काँक्रा, धनियाँ, काउली लगायतका तरकारीकोे खेती गरिएको छ ।

यहाँ उत्पादन भएको तरकारी नगरपालिकामा नै खपत हुने गरेको उनले बताए । तरकारी खेती गर्न सो समूहलाई वडा कार्यालयले बीउ, मल, किटनाशक औषधि निःशुल्क रुपमा उपलब्ध गराउनुका साथै कृषि प्राविधिकलाई समय समयमा खटाउने गरेको छ । कार्यालयले व्यावसायिक तरकारीखेती गर्न इच्छुक महिला कृषक समूहलाई सहयोग गरेपछि यहाँका महिलाले सामूहिक तरकारीखेती गर्न थालेका हुन् ।

कृषि र पर्यटन विकासको नारा बोकेको वडा कार्यालयले तरकारी खेतीका लागि वडामा गठन भएका महिला समूहलाई सहयोग गर्दै आएको वडाध्यक्ष गैरेले बताए । उनले सामूहिक तरकारी खेती गर्ने महिलालाई आधुनिक कृषि प्रणाली र बेमौसमी तरकारी खेतीसम्बन्धी तालिमसमेत दिएको बताए । रासस

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update