Shittalpati
सुन्तला र कागतीका बिरुवाको माग अत्याधिक

तानसेन । बन्दाबन्दीले उद्योगव्यवसाय सञ्चालन हुन नपाए पनि पाल्पाको रैनादेवी क्षेत्रमा नर्सरी सञ्चालकलाई फलफूलका बिरुवाको उत्पादन र बेच्न कुनै समस्या परेको छैन । रैनादेवी छहरा गाउँपालिकाका अम्लाबास र सल्लेधाराका किसानले सुन्तला, कागती, जुनारलगायत फलफूलका बिरुवा मागअनुसार पुर्‍याउन समस्या देखिएको बताएका छन् ।

रैनादेवी छहरा–४, सल्लेधाराका दधिराम पोखरेलले बन्दाबन्दीमा झण्डै चार हजार सुन्तला र कागतीको बिरुवाबाट झण्डै लाखभन्दा बढी आम्दानी भएको बताए । गुल्मी जिल्लाका सत्यवती र छत्रकोट गाउँपालिकामा बिरुवा निर्यात भएको छ । ‘श्रम र पसिना बगाउन तयार हुँदा राम्रो आम्दानी हुन्छ । निरन्तर रुपमा मेहनत गरेमा पैसा कमाउन घरबाट बाहिर जानुपर्दैन’, पोखरेलले भने । पन्ध्र हजार सुन्तला, कागती, जुनारलगायत बिरुवाको पाल्पाका बगनासकाली र रैनादेवी गाउँपालिकाबाट ठूलो मात्रामा माग भएको पोखरेलको दावी छ । प्रतिसुन्तला र कागतीका बिजुलाई २५ र कलमी बिरुवालाई रु ४५ मा घरबाट नै कारोवार हुँदै आएको छ । हाल सामाजिक दूरी कायम गरी फलफुलका विरुवाको कारोबार हुँदै आएको छ । रैनादेवी अम्लाबासका मनबहादुर बगालेले बन्दाबन्दीमा करीब आठ हजार सुन्तलाको बिरुवाको कारोवार भएको बताए ।

रैनादेवी छहराका मुझङ, भुवनपोखरी, सोमादीलगायतकस्थानमा बिरुवा पठाइएको छ । अम्लाबासका विष्णु कोइरालाले पाँच हजार सुन्तला, कागती, जुनारलगायत विरुवामा जिल्ला बाहिरबाट माग आएको बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय, जोन गुल्मी र पर्वत जिल्ला सुन्तला कागतीको माग हुन आएको कोइरालाको जिकिर छ । पाल्पाका स्थानीय तहबाट ठू्लो मात्रामा सुन्तलाको बिरुवाको माग भएअनुसार पु¥याउन समस्या हुने देखिएको छ । चालु आर्थिक वर्षमा १५ हजारभन्दा बढी बिरुवा बिक्रीबाट झण्डै चार लाख आम्दानी भएको छ । अम्लाबासकै अर्का नर्सरी सञ्चालक खुमबहादुर बगालेले उत्पादित फलफूलका बिरुवाको माग बढ्दो रहेको बताए । रिब्दीकोट गाउँपालिकाबाट १३ हजार सुन्तलाको बिरुवा र बगनासकाली गाउँपालिकाबाट सात हजार कागतीको बिरुवाको माग भएको छ । रैनादेवी छहरासँग आवश्यकतानुसारका सुन्तला र कागतीका बिरुवा उपलब्ध गराइनदिन अनुरोध आएको छ । रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले व्यावसायिक सुन्तला किसानलाई अनुदानमा बिरुवा वितरण गर्ने योजना रहेको बताए । जिल्लामा वार्षिक पाँच हजार ६ सय ६० टन सुन्तला उत्पादन हुँदै आएको छ ।     -रासस

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  ०४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update