Shittalpati
रामपुर १ का कृषकहरुलाई अनुदानमा मौरी घार

इमान सिं राना
पाल्पा (रामपुर) । रामपुर नगरपालिका वडा १ ले कृषकहरुलाई अनुदानमा गोला सहितको मौरी घार वितरण गरेको छ । कृषकहरुलाई मौरीपालन तर्फ आकर्षिक गर्नका लागि वडा कार्यालयले लकडाउनका बिच टोलटोलमा पुगेर ५० प्रतिशत अनुदानमा घार वितरण गरेको हो ।

कृषकहरुको माग अनुसार वडा कार्यालयले ४६ जना कृषकहरुलाई ५० घार मौरी वितरण गरेको हो । रामपुर नगरपालिका वडा १ का वडाअध्यक्ष मित्रलाल कंडेल, रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेय, योजना अधिकृत कपिलबहादुर खाँण र कृषि प्राविधिक शुसिल अधिकारीको सहितको टोलीले कृषकको घर–घरमा पुगेर घार वितरण गरेको थियो । कृषकहरुलाई रामपुर नगरपालिकाका कृषि शाखा अधिकृत पाण्डेय र कृषि प्राविधिक अधिकारीले प्राविधिक ज्ञानको बारेमा जानकारी गराएका थिए । वडाले ८ हजार रुपैयाँ बराबरको घार पचास प्रतिशत अनुदानमा प्रदान गरेको हो ।

साथै टोल अनुसार कृषकहरुलाई ५÷५ वटा टोपी र पञ्जा वितरण गरिएको थियो । वडा १ का वडा अध्यक्ष कंडेलले मौरी घार तथा कागती खेतीको लागि ४ लाख १० हजार रकम विनियोजन गरिएकोमा कागती खेतीलाई केही रकम छुट्टाएर केहीले मौरीघार वितरण गरिएको बताए । उनले बाँकी रकमले कोरोना संक्रमण नभएको जिल्ला विरुवा पाईएमा कागतीको विरुवा वितरण गरिने जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update