Shittalpati
एउटै वडाबाट १४ करोडको सुन्तला विक्री

वालिङ, स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड आम्दानी गरेको छ । व्यावसायिकरुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैले विक्री गरेर १४ करोडसम्म आम्दानी गरेका छन् ।

जिल्लामा धेरै क्षेत्रफलमा सुन्तला खेती गर्ने किसान १० नं वडामा रहेका सुन्तला सुपरजोन स्याङ्जाका पूर्वसचिवसमेत रहेका मुक्ति अधिकारीले जानकारी दिए । ‘वडामा सुन्तला खेतीलाई व्यावसायिक बनाउने किसान धेरै छन्, उनीहरुले न्यूनतम ५० हजारदेखि अधिकतम ५० लाखसम्म आम्दानी गर्छन्’, उनले भने । पाँच–सात लाखदेखि १५–२० लाख आम्दानी गर्ने किसानको संख्या धेरै छ । किसानले बगैँचा नै ठेक्कामा दिने वा आफै टिपेर ठेकेदारलाई प्रतिकेजीका दरले विक्री गर्दछन् । कोदो तथा मकै खेतीबाट जीविकोपार्जन गरिरहेका किसानले हाल व्यावसायिक रुपमा सुन्तला खेती गरेर वर्षेनि लाखौँ भिœयाइरहेका छन् । सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानहरुले नयाँ बोट थप्नेका छन् । अबका केही वर्षमा उत्पादनसँगै आम्दानीमा पनि वृद्धि हुने उनको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन बढेपनि बजार मूल्य गत वर्षको जति पनि नहुँदा अपेक्षा अनुसारको आम्दानी लिन नसकिएको किसानहरु बताउँछन् ।

प्रतिकेजी ५५ बाट बिक्री सुरु भएको सुन्तला अहिले प्रतिकेजी ९० मा बिक्री भइरहेको छ । अपेक्षा अनुसार बजार मूल्य नपाएपछि शीतभण्डार गरेर विक्री थालिएको थियो । तर व्यवस्थापकीय कमजोरीका कारण शीतभण्डारमा सुन्तला कुहिएपछि किसानहरु थप मर्कामा परेका छन् । जिल्लामा यस वर्ष एक अर्ब २५ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र स्याङ्जाले जनाएको छ । –रासस

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update