Shittalpati
काँग्रेस पाल्पाका सभापति श्रेष्ठले दिए केन्द्रीय नेतृत्वलाई दनक

पाल्पा, नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले आफ्नै पार्टीको नेतृत्वलाई कडा आलोचना प्रहार गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेपछि आफ्नै नेतृत्वलाई उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आलोचनात्मक दनक दिएका हुन् ।

काँग्रेसका केही केन्द्रीय नेतृत्वको अहंकार र अदूरदर्शिताका कारण पार्टी राष्ट्रको बागडोर समाल्ने अवसरबाट वञ्चित भएकोप्रति संकेत गर्दै सभापति श्रेष्ठले अब पार्टी नेतृत्व सच्चिनुु पर्ने बताएका छन् । उनले नेपालको गौरवशाली पार्टीका रुपमा रहेको काँग्रेसभित्र मौलाउँदै गएको अनेकतालाई एकतामा परिणत गर्न अपरिहार्य रहेको औल्याएका छन् । सभापति श्रेष्ठले भनेका छन् ‘गुट–उपगुट बाहिर रहि नेतृत्वहरुले निष्पक्ष विश्लेषण सहित अघि बढी नेपाली काँग्रेसलाई लोकप्रिय पार्टी बनाउनका निम्ति संघर्ष नगर्ने हो भने नेपाली काँग्रेस केबल पार्टी मात्र नभएर राजनैतिक कम्पनी बन्ने र अन्ततः शक्ति प्राप्तिको लागि नेतृत्वको होडबाजी र जनताप्रति वितृष्णाको कारण ग्रास लेवलका नेतृत्वहरुको उत्साह घट्दै जानुको साथै व्यक्तिवादी स्वार्थको राजनीति सिक्ने वा संगठन कम सक्रिय हुनेछन् ।’ यस्तो अवस्थामा काँग्रेस कम्युनिष्टसँग कमजोर रुपमा प्रस्तुत नभई जनमतको कदर, सुझाव र आवश्यकतालाई मध्यनजर गरी अगाडि बढ्नुु अहिलेको आवश्यकता र खाँचो रहेको उनको विश्लेषण छ ।

सभापति श्रेष्ठले काँग्रेसले सत्ता भन्दा पनि जनता शक्ति ठान्ने गरेको भन्दै पञ्चायतको समयमा पनि प्रतिपक्षीकै भूूमिका निर्वाह गरेको बताए । उनले भनेका छन् ‘जसले सत्ता भन्दा जनता शक्ति ठान्छ भन्ने कुरा माओवादी द्वन्दकालिन अवस्थाको इतिहासबाट पनि प्रष्ट हुन्छ, २०५१ देखि नेकपा एमालेले सबैभन्दा लामो समय सत्तालाई खेलको मैदान बनायो, जसले सत्ताको लागि जुनसुकै कदम पनि उठाउन सक्ने र त्यसको लागि अल्पकालीन जस्तोसुकै भ्रम पैदा गर्ने कुरा भनिरहनुपर्दैन ।’ नेकपा माओवादी हिजो सहमती बमोजिम सत्ता नपाएरै एमालेसँगको एकीकरण टुटाउँदै काँग्रेससँग टासियो, अहिले पुनः सत्ताकै निम्ति नेपाली काँग्रेसका केही केन्द्रीय नेतृत्वको अंहकारलाई परास्त गर्दै सत्ताको दाउमा पुुगेको सभापति श्रेष्ठले उल्लेख गरेका छन् । उनले काँग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गरेको भन्दै निराश नहुन समेत सबैलाई आग्रह गरेका छन् । ‘सत्ता गुम्दैमा काँग्रेसको शक्ति गुमेको छैन, हामी थप सशक्त भएर काँग्रेस सशक्तीकरणको अभियानमा जुट्न दृढ संकल्प गछौँ,’ सभापति श्रेष्ठले भनेका छन् । उनले अहिलेको सरकार टिकाउ नभई जग विनाको सरकार भएकाले भत्कने निश्चित रहेको बताएका छन् । नेपालको राजनैतिक प्रणालिको स्वच्छता, सामाजिक र आर्थिक सवलिकरणका लागि अरुको आसा नगरी एक ढिक्क भएर छाति थाप्नका लागि तयार हुन समेत सभापति श्रेष्ठले काँग्रेस नेतृत्वलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update