Shittalpati
दाहाल नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन, नवनियुक्त मन्त्रीहरूले लिए सपथ

पाल्पा, प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छिन् । सोमबार शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाल र ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् ।

माओवादी केन्द्रबाट २, एमालेबाट ४, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट १–१ जना मन्त्री बनेका छन् । एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधामन्त्री बनेका छन् । एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई अर्थमन्त्रालय र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठलाई भौतिक पूर्वाधार र लामिछानेलाई गृहमन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्री बन्नेहरूमा एमालेबाट दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्र राई रहेका छन् । त्यस्तै जनमत पार्टीका उपाध्यक्षसमेत रहेका अब्दुल खानले पनि मन्त्रीको शपथ लिएका छन् । सोमबार पहिलो चरणमा मन्त्रिपरिषद् गठन गरिएको र पछि मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सात दलको समर्थनमा तेस्रो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । यो गठबन्धनमा माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, स्वतन्त्रका ३ सांसद छन् । राप्रपा र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी नहुने भएको छ ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update