Shittalpati
नेतृत्व हानथापले काँग्रेसलाई नोक्सान, एमालेको सरप्राइज, प्रचण्ड प्रधानमन्त्री

हाम्रा संवाददाता
पाल्पा, असीमित सम्भावनाको पुञ्ज भएकाले राजनीतिमा कहिलेकाहीँ नसोचेको परिदृश्यसमेत देखिन्छ । सत्ता समीकरणको खेलमा आफू अनुकल नेताहरूले जुनसुकै निर्णय गर्छन् । नेपालजस्तो देशमा त झन् धेरैजसो समय राजनीतिमा नसोचेका निर्णय र परिदृश्यहरु देखा पर्ने गरेका छन् । आइतबार त्यस्तै परिदृष्य नेपाली राजनीतिको समीकरणले देखाएको छ ।

सबभन्दा ठूलो दल बनेको नेपाली काँग्रेस आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि आइतबार दिउँसोसम्म छलफलमै जुट्यो । सबैको ध्यान काँग्रेस नेतृत्वको गठबन्धन दलतर्फ नै थियो । काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो प्रधानमन्त्रीमै दाबी गर्दै आएका थिए । दाहालले यो गठबन्धन नयाँ नभई चुनावअघिकै निरन्तरता भएकाले सरकारको नेतृत्व गर्ने पालो आफ्नो भएको दाबी गरेका थिए । चुनावअघि २३ सिटमा ‘खुम्चिएको’ काँग्रेसलाई प्रधानमन्त्री दिएकाले यसपटक आफ्नो नेतृत्वलाई स्वीकार गर्नुपर्ने अडान उनले सुनाएका थिए । तर, सफलतापूर्वक आफूले चुनाव गरेको र पहिलो पार्टी भएकाले काँग्रेस नेतृत्वमै सरकार बन्नुपर्ने अडान देउवाले राखेका थिए । यी दुवै बिचको अडान अन्ततः माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पक्षमा पुग्यो । प्रचण्डले प्रधानमन्त्रीका कुरा नमिलेपछि एमालेसँगको छलफल गर्न बाल्कोट पुगे । एमाले अध्यक्ष ओली निवास बाल्कोट पुगेका प्रचण्डलाई एमालेले प्रधानमन्त्री बनाउने सहमति ग¥यो । जसका कारण पहिलो दल बनेको काँग्रेसले अन्ततःसबै गुमाउन पुग्यो । दोस्रो ठूलो दल नेकपा एमाले र तेस्रो दल माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी र अरु साना दलहरू समेटेर नयाँ सरकार बनाउने सहमति गरेसँगै कांग्रेस प्रतिपक्षमा बस्ने निश्चित भएको छ । आइतबार बिहानसम्म कांग्रेस सत्ता गठबन्धन जोगाउन प्रयासरत थियो । तर राष्ट्रपति र प्रधानमन्त्री दुवै छाड्न नचाहेपछि माओवादी गठबन्धन छाडेर एमालेको साथ खोज्न पुगेको हो ।

एमालेसँगको सहमति अनुसार पहिलो साढे २ वर्षका लागि दाहाललाई प्रधानमन्त्री बनाउने र बाँकी अवधि एमालेको नेतृत्वमा सरकार गठन गर्ने भनिएको छ । यसका लागि एमाले र माओवादीसहित हालसम्म ७ दलहरूले सहमति जनाएका छन् । जसमा संसद्रुमा २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी, १४ सिट रहेको राप्रपा, १२ सिट रहेको जनता समाजवादी पार्टी, ६ सिट रहेको जनमत पार्टी, ४ सिट रहेको नागरिक उन्मुक्ति पार्टीले सहमति जनाएका छन् । नेपाली कांग्रेससँग मिलेर सरकार गठन गर्ने अवस्था नदेखिएपछि माओवादी केन्द्रका अध्यक्ष दाहाल आइतबार दिउँसो कांग्रेस सभापति देउवासँगको बैठकपछि ओलीसँग छलफल गर्न सिधै बालकोट पुगेका थिए । राष्ट्रपतिले तोकेको समयसीमा भित्र पहिलो दल बनेको कांग्रेसले सरकार गठन गर्न नसकेपछि एमालेले अग्रसरता लिएको थियो । अन्तिम समयमा आएर दलहरुले बहुमत पुर्‍याएका हुन् ।
प्रधानमन्त्री बन्नका लागि दाहालले सात राजनीतिक दलहरूको समर्थनसहित आइतबार साँझ शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गरेका थिए ।राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरिन्। दाहालले प्रधानमन्त्री बन्नका लागि १६६ सांसदको समर्थन जुटाएका थिए ।तेस्रो पटक प्रधानमन्त्री बनेका दाहालले आज पद तथा गोपनीयताको शपथ लिने छन्। यदि सात दलहरूको सहमति अनुसारको नयाँ गठबन्धन बनेको खण्डमा कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोसपा मात्रै सरकार बाहिर रहने अवस्था देखिनेछ ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update