Shittalpati
बालकोट बैठक : प्रचण्डलाई प्रधानमन्त्री बनाउने, एमालेले राष्ट्रपति लिने

काठमाडौं, बालकोट बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्रीमा माओवादी केन्द्र र राष्ट्रपतिमा नेकपा एमाले हुने सहमति भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

चार पार्टीको बैठक अघि एमाले अध्यक्ष ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनबीच पनि सत्ता सहकार्य गर्ने समझदारी भएको थियो । उक्त सहमतिअनुसार पहिलो साढे २ वर्षका लागि दाहाललाई प्रधानमन्त्री बनाउने र बाँकी अवधि एमालेको नेतृत्वमा सरकार गठन गर्ने भनिएको छ ।यसका लागि एमाले र माओवादीसहित हालसम्म ७ दलहरूले सहमति जनाएका छन् । जसमा संसद्‍मा २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी, १४ सिट रहेको राप्रपा, १२ सिट रहेको जनता समाजवादी पार्टी, ६ सिट रहेको जनमत पार्टी, ४ सिट रहेको नागरिक उन्मुक्ति पार्टीले सहमति जनाएका छन् ।

सहमतिपछि ओली र दाहालसहित नयाँ गठबन्धन दलका शीर्ष नेताहरू सरकार गठनको दाबी गर्न राष्ट्रपति निवास शितल निवास जाँदै छन् । नेपाली कांग्रेससँग मिलेर सरकार गठन गर्ने अवस्था नदेखिएपछि माओवादी केन्द्रका अध्यक्ष दाहाल आइतबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवासँगको बैठकपछि ओलीसँग छलफल गर्न सिधै बालकोट पुगेका थिए । 

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update