Shittalpati
नेपालको मुख्य रोग भ्रष्टाचारको अन्त्य गर्नुपर्छ : डा.भण्डारी

बुटवल, नेपाली काँग्रेसका नेता एंव प्रतिनिधिसभा सदस्यमा गुल्मी १ बाट निवार्चित सांसद डा.चन्द्र भण्डारीले नेपालको मुख्य रोग भ्रष्टाचार भएको बताएका छन् । डा. भण्डारीले नेपाल बन्न नसक्नु र पछाडी पर्नुको मुख्य कारण भ्रष्टाचार भएको र त्यसको अन्त्य गर्न सबै एक भएर लाग्नुपर्ने बताएका हुन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भण्डारीले भ्रष्टाचार अन्त्य नगरी देश अगाडि बढन नसक्ने बताएका हुन् । पञ्चायतकाल देखिनै जनताले खानेपानी, सडक, शिक्षाको माग गर्नु परेको र अहिले पनि त्यहि माग लिएर नेता गुहार्नु पर्ने अबस्था रहनु दुखद भएको बताए ।

‘३० बर्षमा पनि मुलुक जहाँको त्यहीँ छ, १० जनाका नेताका लागि देश बनेको होला तर आम जनताका लागि देश बन्न सकेन,त्यसैले एकपटक देशलाइ माथि राखेर सबैले सोचौँ,बिकासमा जुटौं, पार्टीको रसिदले मात्रै देश बन्दैन’ नेता भण्डारीले भने । जनताले अझै पनि न्यूनतम विकासका लागि हात फैलाउनुपर्ने अवस्था आउनुको मुख्य कारण भष्ट्राचार भएको बताए । देशमा जताततै दलाल समुहहरू हावी हुँदा बेथिति बढेको उनले बताए ।

देशको रोग आफुहरुलाई थाहा भएको र त्यसको निदान गर्न सक्ने डाक्टरहरुको समुहले रोगको निदान गर्ने बताए । ‘सरकारको नेतृत्वमा को जाने भन्दा पनि कस्तो बिचार बोकेर, सरकार बनाउने भन्नेमा हामी सचेत छौं । उमेरले मात्रै युबा हैन विचारले क्षमताले देशको सहि नेतृत्व गर्नुपर्छ भण्डारीले भने ।

काँग्रेसबाट गगन थापा प्रधानमन्त्री भन्ने चर्चा छ ? तपाईंको राय के छ ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने ‘प्रत्यक्ष निवार्चन भएको भए व्याक्तिको चर्चा गर्नु ठिक हुन्थ्यो, तर अहिलेको अवस्थामा जननिर्वाचितहरूले प्रधानमन्त्री बनाउने हो, त्यसैले अहिले प्रधानमन्त्री को के भन्दा पनि बिचार र योजना ठूलो कुरा हो ।’ काँग्रेस महाधिवेशनपछि आफुहरूको विचार समूहले पार्टीमा पुस्तान्तरणको सवाल उठाएको बताउँदै उनले सबै समूह, दल र नेताहरुबिच छलफल गरेर मात्रै निर्णयमा पुग्न सकिने बताए ।

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update