Shittalpati
पाल्पामा चार नयाँ अनुहार, जो पहिलो पटक संसद् टेक्दैछन्, प्रदेशमा भने दुुई सांसद दोहोरिए

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पामा मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना सकिएको छ । यहाँ शुक्रबारसम्म मत गणना भएको थियो । जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभामा चार नयाँ अनुहार उदाएका छन् । दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा रहेको यहाँ निर्वाचित भएका मध्ये चार जना सांसद नयाँ हुन् । जसमा दुुई जना प्रतिनिधि सभा र दुुई जना प्रदेश सभामा नयाँ अनुुहार आएका छन् । उनीहरु पहिलो पटक संसद् टेक्दैछन् ।

क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नारायण आचार्य नयाँ हुन् । यद्यपी उनी यस अघि प्रदेश सभा सदस्य थिए । संघीय सांसदका लागि भने उनी नयाँ हुन् ।आचार्यले ३१ हजार १ सय ३ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई १० हजार ८ सय ४७ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन् । पराजित गाहाले २० हजार २ सय ५६ मत ल्याएका छन् । यहाँ वतन्त्र उम्मेदवार विपिन कंडेलले २ हजार ८ सय ६३ मत ल्याएर तेस्रोमा छन् । यस्तै मंगोल नेशनल अर्गनाइजेसनका थम्मनबहादुर बूूढा मगरले १ हजार ९ सय १६, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले २ सय ४४, राष्ट्रिय जनमुक्ति पार्टीका उजर सिं दर्लामीले १ सय ९, स्वतन्त्र उम्मेदवार राजु सुनारले ६६, जनता समाजवादी पार्टीका मेहरमान रानाले ५०, स्वतन्त्र उम्मेदवार नारायण न्यौपानेले २१, अर्का स्वतन्त्र डोलराज तिमिल्सीनाले ७ मत प्राप्त गरेका छन् ।

यस्तै क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकै ठाकुरप्रसाद गैरे निर्वाचित भएका छन् । उनी पनि नयाँ हुन् । उनले पूर्व उद्योगमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई ३ हजार ९ सय ६६ मतान्तरले पराजित गरेका हुन् ।
गैरेले २७ हजार ८ सय १७ मत ल्याए भने पाण्डेयले २३ हजार ८ सय ५१ मत ल्याएका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ५ हजार १ सय ८०, मंगोल नेशनल अर्गनाइजेसनका मनबहादुर दर्लामीले १ हजार ४ सय ८८, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगरले ५ सय १५ र स्वतन्त्र उम्मेदवार उपेन्द्रराज गहिरेले ५ सय १, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका खडानन्द गैरेले २ सय, जनसमाजवादी पार्टीका देवबहादुर हिस्कीले १ सय १०, जनता समाजवादी पार्टीका दुर्पाता सामैले १ सय ९, नेपाल आमा पार्टीका ताराबहादुर खत्रीले ९९, स्वतन्त्र उम्मेदवार जीवलाल सुवेदीले ८८, नेपाल मजदुर किसान पार्टीका शिव सुन्दर दुख्वाले ३५ र स्वतन्त्र केशवबहादुर आलेले ७ मत पाएका छन् । यस्तै, नेकपा एमालेका राजुप्रसाद श्रेष्ठ पनि नयाँ हुन् । उनी निर्वाचन क्षेत्र नं.१ (१) को प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

श्रेष्ठले नेपाली काँग्रेसका श्यामकान्त खनाललाई ५ हजार ३ सय ९० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । श्रेष्ठले १७ हजार ६ सय ४२ मत ल्याए भने उनका प्रतिद्वन्द्वी खनालले १२ हजार २ सय ५२ मत ल्याए । यस्तै प्रदेशसभामा मंगोल नेशनल अर्गनाइजेसनका पूर्णबहादुर रुचालले २ सय ६०, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर गाहाले ४ सय ३१ मत प्राप्त गरेका छन् । यस्तै घर चिह्नका भिमसेन सुनारी मगरले ८० मत पाएका छन् ।

क्षेत्र नं. १ (२) को प्रदेश सभा सदस्यमा निर्वाचित एमालेका खेम सारु पनि नयाँ हुन् । उनले १४ हजार २ सय ९६ मत ल्याएर निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शंकर खनाललाई पराजित गरेका छन् । काँग्रेसका खनालले ९ हजार ५ सय ५ मत ल्याए । विजयी सारु शिक्षक पेशाबाट राजनीतिमा आएका हुन् । यहाँ मंगोल नेशनल अर्गनाइजेसनका लालबहादुर दर्लामीले २ हजार ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मणप्रसाद पंगेनीले ३ सय ७४, राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर रानाले १ सय ६५ मत प्राप्त गरेका छन् ।

यस्तै निर्वाचन क्षेत्र नं.२ (१) को प्रदेशसभामा विजयी नेपाली काँग्रेसका वीरबहादुर राना भने दोहोरिएका छन् । उनी २०७४ को निर्वाचनमा पनि प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । रानाले प्रदेशको विकास र समृद्धिको क्षेत्रमा उल्लेखीय काम गरेकाले यहाँका मतदाताले पुनः दोहोत्याएका हुन् । रानाले १६ हजार ३९ मत प्राप्त गरी निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका परशुराम भट्टराईलाई हराए । उनी लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री समेत हुन् । यहाँ मंगोल नेशनल अर्गनाइजेसनका लक्ष्मण गाहाले १ हजार ५ सय ९७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गैरेले १ हजार ५ सय २० मत प्राप्त गरेका छन् । यस्तै घर चिÞनमा ३ सय ५१, छातामा १ सय ६३ र मादल चिन्हमा ७७ मत खसेको छ ।

यस्तै निर्वाचन क्षेत्र नं २(२) प्रदेश सभामा निर्वाचित नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती पनि दोहोरिनेमा पर्छन् । उनी २०७४ को निर्वाचनमा पनि प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ओमबहादुर घर्तीलाई ९ सय ४१ मतले पछि पार्दै विजयी भएका छन् । विजयी घर्तीले १३ हजार ९ सय ९२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी ओमबहादुरले १३ हजार ५१ मत प्राप्त गरे । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका चक्रपाणी पौडेलले ८ सय ९०, मंगोल नेशनल अर्गनाइजेसनका शिवबहादुर गाहाले ३ सय ७८ र राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्रबहादुर अस्लामीले ३ सय ४५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update