Shittalpati
गुल्मी –१ मा डा.चन्द्र भण्डारी विजयी

पाल्पा, नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारी गुुल्मी क्षेत्र नंं १ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी भन्दा एक हजार ५ सय ९२ मत बढी ल्याएर विजयी भए । मुख्य निर्वाचन कार्यालय तम्घासका अनुसार ३३ हजार ७ सय ४४ मत ल्याएर भण्डारी विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ३२ हजार १ सय ५२ मत पाएका छन् । यहाँ सुुरुवातदेखि नै भण्डारी र ज्ञवालीबीचको प्रतिस्पर्धा निकै रोचक बनेको थियो । कति बेला काँग्रेसका भण्डारी अघि त कति बेला एमालेका ज्ञवाली अघि बड्दै संघर्ष गरिरहेका थिए । अन्ततः काँग्रेस नेता भण्डारीको पोल्टामा जित सुनिश्चित भएको छ । उनले ज्ञवाली भन्दा एक हजार ३ सय मत बढी ल्याएर विजय हात पारे ।

२०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनदेखि भण्डारी र ज्ञवाली चुनावी लडाइँ लडिरहेका छन् । पहिलो संविधान सभा निर्वाचनमा ज्ञवालीले २३ हजार २ सय ५३ मत ल्याउँदा भण्डारीले २१ हजार १०१ मत पाएका थिए । २०६४ यता भएका ३ निर्वाचनमा ज्ञवालीले २ र भण्डारीले १ जित निकालेका थिए । अहिले ज्ञवाली ‘ह्याट्रिक’ गर्ने योजनामा थिए तर सकेनन् । भण्डारी ज्ञवालीसँगको प्रतिस्पर्धामा दोस्रो जित निकालेर बराबरी गर्न सफल भए । उनले गुल्मीको विकासमा उल्लेखीय काम गरेका कारण पनि जित सहज भएको हो ।

२०७० को दोस्रो संविधान सभाको निर्वाचनमा भण्डारीले ज्ञवालीसँगको हार उल्ट्याएका थिए । ज्ञवालीले १८ हजार ६ सय ८१ मत ल्याउँदा भण्डारी २१ हजार १ सय ८९ मतसहित विजयी भए । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने ज्ञवाली विजयी भएका थिए । तत्कालीन बाम–गठबन्धनका उम्मेदवार ज्ञवालीले ३७ हजार ८ सय १४ मत ल्याउँदा भण्डारीले ३० हजार २ सय ५६ मत ल्याएका थिए । अहिले फेरी २०७४ को ज्ञवालीसँगको हार भण्डारीले उल्ट्याउन सफल भएका छन् ।

यहाँका मतदाताले आलोपालो गरी दुवै प्रभावशाली नेतालाई संसद्मा पुुर्‍याएका छन् । यसो त अहिले डा. भण्डारीकै पालो थियो । जिल्लाको छत्रकोट गाउँपालिका हुँगामा जन्मिएका डा. भण्डारी नेपाली काँग्रेसका प्रभावशाली र प्रखर वक्ताका रुपमा चिनिन्छन् । पारिवारिक वातावरणका कारण किशोरकालदेखि नै राजनीतिमा रुचि राखेका उनी २०३३ बाट नेपाली कांग्रेसको गतिविधिमा सक्रिय हुन थालेका थिए । २०४८ सालमा नेपाल विद्यार्थी संघको महामन्त्रीको जिम्मेवारीमा पुगेका भण्डारी २०६७ पछि निरन्तर पार्टीको केन्द्रीय सदस्य छन् । उनी २०७८ मंसिरमा सम्पन्न १४ औं महाधिवेशनमा उप–सभापतिमा उठेर पराजित भए । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा पक्राउ परेर पाँच वर्ष जेल जीवन बिताएका डा.भण्डारीले अहिले दोस्रो पटक सांसद् यात्रा तय गरेका हुन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update