Shittalpati
पाल्पामा गठबन्धन दलले माग्यो पत्रकारसँग सुझाव

पाल्पा, पाल्पामा पाँच दलीय गठबन्धन दलले जिल्लाका पत्रकारहरुसँग सुझाव मागेको छ । मंसिर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेकाले गठबन्धन दलले के गर्दा राम्रो हुन्छ ? भन्ने विषयमा सुझाव मागेको हो । सुझाव तथा छलफल कार्यक्रममा पत्रकारहरुले जनअपेक्षा अनुसारका योजना तथा कार्यक्रम ल्याउनु पर्ने, दलहरु सूचनामैत्री र मिडिया मैत्री बन्नुपर्ने, हिजो जनतासँग गरेका वाचाहरु पुरा भए नभएको विषयमा समिक्षा गर्न गठबन्धन दललाई सुझाव दिएका छन् । उनीहरुले पत्रकार र मिडियालाई निर्वाचनका बेला मात्र प्रयोग गर्ने तर अघि पछि कुनै पनि सोधखोज नगर्ने गरेको बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपसभापति माधव अर्याल, युनियनका जिल्ला उपसभापतिहरु पुष्करराज रेग्मी, मन गहिरे, पत्रकार महासंघका कोषाध्यक्ष मुक्ति न्यौपाने, पे्रस युनियन पाल्पाका नेता शंकर भण्डारी, पत्रकारहरु दीपक पोखरेल, नवराज ज्ञवाली,कृष्ण गहतराज लगायतले जनता र मिडिया मैत्री बन्न गठबन्धनलाई आग्रह गरे । कार्यक्रममा गठबन्धनका संयोजक तथा नेपाली काँग्रेसका जिला सभापति हिमालदत्त श्रेष्ठले निर्वाचनलाई सफल र प्रभावकारी बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेकाले उनीहरुको सुझावलाई आत्मसाथ गर्दै गठबन्धन दल अगाडि बढ्ने बताए । उनले निर्वाचनमा गठबन्धनको पक्षमा माहोल सिर्जना गरिदिन पनि पत्रकारहरुलाई आग्रह गरे । लोकतन्त्रको रक्षा, देशमा सुशासन र समृद्धिका लागि गठबन्धन दलको नेतृत्वमा सरकार आवश्यक रहेकाले त्यसको पक्षमा पत्रकारहरुले कलम चलाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादी लुम्बिनी प्रदेश संयोजक तथा पाल्पा क्षेत्र २ का सांसद सोमप्रसाद पाण्डे, नेपाली काँग्रेसका उपसभापति झपेन्द्र गहिरे, नेकपा एकिकृत समाजवादी (एस)का जिल्ला संयोजक कमल पाण्डे, एसका वरिष्ठ नेता तथा पूर्व सांसद यादव बहादुर रायमाझी, नेपाली काँग्रेसका जिल्ला सचिव सन्तोष थापा मगर, नेकपा एसका केन्द्रीय सदस्य अशोक कुमार शाही, नेकपा माओवादीका केन्द्रीय सदस्य अनिल किशोर घिमिरे, माओवादीका नेता मधुरा ढकाल, राष्ट्रिय जनमोर्चका नेता सोम कार्की, जनता समाजवादीका प्रतिनिधि हेमबहादुर सोमै, राष्ट्रिय जनमोर्चाकी नेतृ नरमता सिंजाली लगायतले निर्वाचनमा गठबन्धनका पक्षमा सशक्त भएर कलम चलाइदिन पत्रकारहरुलाई आग्रह गरे । गठबन्धनका संयोजक हिमादलदत्त श्रेष्ठको अध्यक्षता राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update