Shittalpati
पाल्पामा केही उम्मेदवारले चुनावी खर्च विवरण बुझाएनन्, स्पष्टीकरण पनि दिएनन्

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पाका ९ सय २३ उम्मेद्वारले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको बेवास्ता गरेका छन् । निर्वाचन खर्च विवरण पेस नगरेका जिल्लाका ९ सय २३ उम्मेदवार मध्ये १ सय ५९ ले आयोगले सोधेको स्पष्टीकरण नै पेस नगरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र चुनाव खर्च विवरण बुझाउनुपर्ने कानुनी प्रावधान छ । तर जिल्लामा स्थानीय तह निर्वाचन २०७९ मा होमिएका एक हजार ७२ उम्मेदवारमध्ये ९ सय २३ ले तोकिएको समयमा खर्च विवरण बुझाएका थिएनन् । उनीहरूलाई आयोगले लिखित स्पष्टीकरण बुझाउने ७ दिन समय दिएको थियो । तर सो समयमा जिल्लाका ७ सय ६४ जनाले मात्रै लिखित स्पष्टीकरण पेस गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको बेवास्ता गरेका १ सय ५९ उम्मेदवारको कारवाही प्रक्रिया अगाडि बढेको छ । दुुई नगरपालिका र ८ गाउँपालिका रहेको पाल्पामा पटक–पटक ताकेता गर्दासमेत खर्च विवरण बुझाउन अटेरी गरेकाले ९ सय २३ जनालाई स्पष्टीकरण सोधिएको थियो । जसमध्ये अहिलेसम्म १ सय ५९ जना उम्मेदवारले स्पष्टीकरण अझै दिएका छैनन् । उनीहरुले न खर्च विवरण बुुझाएका छन् न त स्पष्टीकरण नै । उम्मेदवार बनेर खर्च विवरण नबुझाएकाहरूलाई पटक–पटक स्पष्टीकरण सोधिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत रुक्मांगत अर्यालले बताए । यहाँ १ सय ४९ जनाले मात्र समयमै खर्च विवरण पेश गरेका थिए । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका ७७ जना कार्यपालिका सदस्यहरु मध्ये १२ जनाले मात्र समयमै खर्च विवरण बुुझाएका छन् । ४ जनाले विलम्ब गरी पेस गरे पनि उनीहरु स्पष्टीकरणमा परे । निर्वाचन कार्यलयले स्पष्टीकरणका लागि पुनः सूचना जारी गरेपछि ६५ जना मध्ये ४२ जनाले स्पष्टीकरण दिएका छन् भने २३ जनाले दिएनन् । यस्तै जिल्ला समन्वय समिति पाल्पाका १८ जना उम्मेदवारहरु मध्ये ३ जनाले मात्र समयमै खर्च विवरण बुुझाएका छन् । निर्वाचन अधिकृत अर्यालका अनुसार जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, उपप्रमुख काशीका ज्ञवाली र समन्वय प्रमुखका उम्मेदवार नेपाली काँग्रेसका नेता यमलाल तिमिल्सीनाले समयमै खर्च विवरण बुुझाएका हुुन् । समयमै पेश नगर्ने १५ जना मध्ये पछि ७ जनाले स्पष्टीकरण दिएका छन् भने बाँकी ८ जनाले दिएनन् ।

यस्तै अहिलेसम्म विवरण नबुझाउनेमा तानसेन नगरपालिकाका ४९, रामपुर नगरपालिकाका २१, तिनाउ गाउँपालिकाका २५, निस्दी गाउँपालिकाका ३, पूर्वखोला गाउँपालिकाका ७, बगनासकाली गाउँपालिकाका ९, माथागढी गाउँपालिकाका २७, रम्भा गाउँपालिकाका ३, रिब्दीकोट गाउँपालिकाका ७, रैनादेवी छहरा गाउँपालिकाका ७ जना रहेका छन् । चुनाव खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र बुझाउनुपर्ने कानुनी प्रावधान छ । निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोग ऐन, २०७३ अनुसार राजनीतिक दल वा उम्मेदवारले गरेको खर्च वा पाँच लाखमध्ये जुन बढी हुन्छ सोही बराबरको रकम निर्वाचन आयोगले जरिवाना गर्ने व्यवस्था गरेको छ । त्यस्तै ६ महिनासम्म जरिवाना रकम नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन वा उम्मेदवार हुन नपाउने व्यवस्था रहेको छ ।

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update