Shittalpati
दलको अस्तित्व रक्षाका लागि गठबन्धन आवश्यक : मन्त्री चौधरी

कृष्ण पोखरेल
पाल्पा, शहरी विकास मन्त्री मेटमणी चौधरीले दलको अस्तित्व रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा बुधबार आयोजना गरेको गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री चौधरीले गठबन्धनमा रहेका ठूला पार्टी, साना पार्टी एक्ला एक्लै मैदानमा उत्रिदा सबैको अस्तित्व खुम्चिने भएकाले आफ्नो अस्तित्व जोगाउनका लागि भए पनि गठबन्धन आवश्यक रहेको बताएका हुन् ।

नेपाली नेताहरु गलत संस्कार, गलत प्रवृत्ति, सक्षम नेतृत्वको अभावका कारण आज व्यवस्था परिवर्तन भए पनि शासन व्यवस्थामा सुधार नआएको मन्त्री चौधरीले बताए । संविधान र संसदीय व्यवस्था रक्षाको लागी एकै ठाउँमा उभिएका ५ दलिय गठवन्धन अहिले एक्ला एक्लै उभिन नसक्ने, एक्लै केहि गर्न नसक्ने अवस्था आएकाले बाध्य भएर गठबन्धन अझै विस्तारको चरणमा पुगेको उनले धारणा व्यक्त गरे । जनताले राम्रो माने पनि नमाने पनि अबको १० बर्ष नेपालको राजनीति दुई धुर्व र कित्तामा विभाजन भइरहने अवस्था रहेको मन्त्री चौधरीले बताए । २०७४ सालमा गठबन्धन गर्ने प्रमुख शक्ती एमाले थियो भने अहिले काँग्रेस भएको छ । अहिले सम्मको अवस्था आउँदा पार्टीको सिद्धान्त विचार भन्दा पनि आ–आफ्नो अस्तित्व रक्षाको लागि गठवन्धन भइरहेको मन्त्री चौधरीले बताए ।

विश्वमा आन्तरीक तथा बाह्य रुपमा राजनीतिक धुव्रिकरण दुई कित्तामा बाडिएकाले त्यसको असर नेपालमा परेको उनले बताए । नेपालमा केपी ओली पक्षले चुनाव जितेमा मुलुकको संविधान, संसदीय प्रणाली सिध्याउने चिन्ताकै कारण संविधान रक्षाका लागि गठन भएको ५ दलिय गठबन्धन सबैखाले निर्वाचनमा गठबन्धनलाई अझै शसक्त बनाएको बताएका छन् ।

कार्यक्रममा मन्त्री चौधरी सरकार कुनै व्यापारीक समुह नभएकाले जनताको दुःख सुखमा साथ सहजीकरण गर्ने संस्था सरकार भएकाले पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि व्यापारीले जस्तै अहिले घाटा भयो, घाटा पुर्ति भएपछि मात्र मूल्य घटाउछु भन्ने तर्क जायज नभएकाले आउँदो सोमबारको मन्त्रिपरिषदको बैठकमा कुरा उठाउने प्रतिवद्धता व्यक्त गरे ।

काठमाडौं फोहोर भईरहेको राजनीतिका बारेमा पत्रकारहरुले सोधेको जवाफ दिदै मन्त्री चौधरीले काठमाडौं उपत्यकालाई सधै फोहोर बनाउने, झगडा गराउने एउटा शक्तिशाली गिरोह रहेकाले विभिन्न नाममा सो अदृश्य गिरोहले बर्षेनी फोहोरको नाममा अरबौ रकम राज्य कोषबाट लैजाने गरेको अवस्था रहेकाले सरकार र काठमाडौं महानगरपालिका उक्त गिरोहसम्म पुगिसेकाले अब केहि समयमै काठमाडौको फोहोर स्थायी रुपमै समाधान हुने बताए । मन्त्री चौधरीले बुधवार नै पाल्पा बारुदखानमा सञ्चालनमा आएको एकिकृत कार्यालय मालपोत, नापी, घरेलु तथा साना उद्योग र तथ्याङ्क कार्यालय उद्घाटन गरेका छन् । कार्यक्रम पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत र सचिव यज्ञमुर्ति तिमिल्सीनाको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update