Shittalpati
स्थानीय निर्वाचनको मतलाई सिट बाँडफाँटको मुख्य आधार बनाइनुपर्छ : पाल्पा काँग्रेस

पाल्पा, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा भएसँगै सत्तारुढ दलमा सिट बाँडफाँडको बहस चरिहेको छ । केन्द्रमा सिट बाँडफाँडको बहस भइरहेका बेला नेपाली काँग्रेस पाल्पाले भने स्थानीय निर्वाचनको मतलाई आधार मानेर सिट बाँडफँड गर्नु पर्ने बताएको छ । बिहीबार तानसेनमा बसेको नेपाली काँग्रेसका केन्द्रीय नेता, जिल्लाका पदाधिकारी, तहगत निकायका प्रमुखहरुको संयुक्त बैंठकले स्थानीय निर्वाचनको मतलाई आधार मानेर सिट बाँडफाँड गर्नुपर्ने निर्णय गरेको हो ।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचमा पाँचदलिय गठबन्धनले ल्याएको मतलाई आधार मानेर संघ र प्रदेशको सिट बाँडफाँड गरिनुपर्ने नेपाली काँग्रेस पाल्पाको साझा धारणा रहेको जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताए । उनले भने ‘स्थानीय तहमा प्राप्त गरेको मतको आधारमा सिट बाँडफाँड गर्न सके मात्र आममतदातालाई न्याय हुन्छ, यही कुरामा पाल्पा काँग्रेसको धारणा एक छ । हामी केन्द्रीय नेतृत्वलाई समेत यही सुझाव दिन चाहन्छौं ।’ बैंकठमा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्त, हरि प्रसाद नेपाल, निवर्तमान जिल्ला सभापति वीरबहादुर राना, जिल्ला सभापति हिमालदत्त श्रेष्ठ सहित जिल्लाका पदाधिकारी, पालिका, प्रदेश र क्षेत्रका प्रमुखहरु सिट बाँडफाँड मत परिणामका आधारमा हुनुपर्नेमा एक मत रहेका छन् । उनीहरुले संघको निर्वाचनमा पाल्पाका दुवै क्षेत्रमा काँग्रेसका उम्मेदवारले टिकट पाए पनि आफुहरु जिताउन सक्रिय भएर लाग्ने समेत प्रतविद्धता व्यक्त गरेका छन् ।

पाल्पामा गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले १ सय ९५, नेकपा माओवादीले ३४, नेकपा एकिकृत समाजवादी(एस) र राष्ट्रिय जनमोर्चाले ३÷३ सिट हात पारेका थिए । मतलाई आधार मान्दा एकिकृत समाजवादी(एस) र राष्ट्रिय जनमोर्चा जिल्लामा कमजोर देखिएका छन् । पाँचदलीय गठबन्धन अन्तर्गत पाल्पामा नेपाली काँग्रेसले लोकप्रिय मत प्राप्त गरेको छ । यसलाई आधार मान्दा पाल्पाका दुई वटै क्षेत्रमा काँग्रेसले उम्मेदवार पाउने देखिन्छ । नेपाली काँग्रेस पाल्पाले संघ र प्रदेशको निर्वाचनमा गठबन्धलाई मजबूद बनाएर लैजाने समेत बताएको छ । बिहीबार बसेको बैठकले भाद्र २४ गते विपी जयन्तीको अवसरमा जिल्लाका ८१ वटै वडामा कार्यक्रम गर्ने र वडा सम्मेलन समेत गर्ने निर्णय गरेको नेपाली काँग्रेसका उपसभापति झपेन्द्र गहिरेले बताए । काँग्रेसले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई छिट्टै प्रशिक्षण दिने पार्टी सचिव सन्तोष थापाले बताए । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टी प्रति थप जिम्मेवार बनाउन प्रशिक्षण दिइने अर्को पार्टी सचिव सुनिता अधिकारीले बताईन् । यस्तै काँग्रेस पाल्पाले सचिवालयलाई थप व्यवस्थित र प्रभावकारी बनाउन स्वर्ण शमशेर स्मृति अक्षयकोष संकलनलाई वद्धि गर्दै लैजाने कोषाध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए । उनका अनुसार अहिलेसम्म २९ लाख रकम संकलन भइसकेको र यो वर्ष ५० लाख रकम संकलन गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update