Shittalpati
एमाले पाल्पाले चुनावी प्रशिक्षण गर्दै

कृष्ण पोखरेल
पाल्पा, सरकारले आउदो मंसिर ४ गते केन्द्र र प्रदेशको निर्वाचन मिती घोषणा संगै जिल्लामा राजनीतिक दलहरु पुनःसक्रिय बनेका छन् । आउँदो निर्वाचनलाई केन्द्रीत गरी नेकपा एमाले पाल्पाले यही साउन २८ गते शनिबार जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । तानसेन नगरपालिकाको सभाहलमा हुने चुनावी प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्ट र लुम्बिनी प्रदेश इञ्चार्ज छविलाल विश्वकर्माले प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले पाल्पाका सचिव रामजी पोखरेलले बताए ।

प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटी सदस्य, प्रदेश सल्लाहकार परिषद्, केन्द्रीय विभाग, प्रदेश विभाग, जिल्ला कमिटीका सदस्य, जिल्ला सल्लाहकार परिषद् र जिल्ला विभाग सदस्य, १० वटै पालिकाका पार्टी अध्यक्ष सहितका पदाधिकारी, ८१ वटै वडाका पार्टी वडा अध्यक्ष तथा पदाधिकारीहरु, एमालेबाट निर्वाचित जनप्रतिनिधीहरु सहित करीव ५ सय जनाको सहभागिता रहने सचिव पोखरेलले बताए । प्रशिक्षण कार्यक्रम रैनादेवी छहरा गाउँपालिकामा भदौ ४, रामपुर नगरपालिका र तिनाउ गाउँपालिकामा भदौ ६ गते, रिब्दीकोट गाउँपालिका र निस्दी गाउँपालिकामा भदौ ७ गते, पूर्वखोला गाउँपालिकामा भदौ ८ गते, रम्भा गाउँपालिकामा भदौ ९ गते, तानसेन नगरपालिका र माथागढी गाउँपालिकामा भदौ १० गते र बगनासकाली गाउँपालिकामा भदौ ११ गते राखिएको पार्टी उपाध्यक्ष देवीलाल लामिछानेले बताए । यस्तै गरी जिल्लाको ८१ वटा वडा स्तरीय प्रशिक्षण तथा भेला यही भदौ १६ गते देखि २५ गतेसम्म सम्पन्न गर्ने, भदौ २६ गतेदेखि भदौ मसान्तसम्म टोल भेला प्रशिक्षण सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ । बैठकमा एमाले पोलिटब्यूरो सदस्य एवं पाल्पा जिल्ला इञ्चार्ज ठाकुर गैरेले विगतको निर्वाचनमा एमालेले पाल्पालाई लालकिल्ला बनाएकाले आउदो निर्वाचनमा पाल्पाका २ वटा प्रतिनिधीसभा र ४ वटा प्रदेश सभा एमालेले जित्ने गरी टोल–टोल घर–घरमा खटिन नेता कार्यकर्ताहरुलाई अनुरोध गरे । पाल्पा क्षेत्र नंं २ मा प्रतिनिधीसभा निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट ठाकुर गैरेको नाम चर्चामा रहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update