Shittalpati
नेपाल प्रेस युनियनको  आठ वर्षमा नयाँँ नेतृत्व, अध्यक्षमा लम्साल

पाल्पा, नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा करिव आठ वर्षपछि नयाँ नेतृत्व आएको छ । यही साउन ६ र ७ गते हेटौंडामा भएको नवौं महाधिवेशनले शिव लम्सालको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

७ गते मध्यरातिदेखि थालिएको मतगणनाको अन्तिम परिणाम ९ गते बिहानमात्र आइपुगेको हो । महाधिवेशनमा दुई प्यान संस्थापन पक्ष र संस्थापन इतर पक्ष बिच प्रतिष्पर्धा भएको थियो । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिवसहित अधिकांश पदमा संस्थापन इतर पक्ष विजयी भएको छ । संस्थापन इतर पक्षका अध्यक्षका उम्मेदवार शिव लम्साल, वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रेम केसी र महासचिवका उम्मेदवार दिलिप पौडेलसहित अधिकांश पदमा संस्थापन इतर विजयी भएको हो । अध्यक्षमा लम्सालले संस्थापन पक्षकी उम्मेदवार अनिता बिन्दूलाई पराजित गरेका हुन् । तीन जनाबीच भएको भिडन्तमा लम्सालले ७ सय ४५ मत पाउँदा विन्दुले ६ सय १२ तथा भुवन भट्टले मात्र १९ मत पाएका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा निर्वाचित केसीले सरोज अधिकारीलाई २० मतले पराजित गरे । केसीले ६ सय ८५ मत ल्याउँदा अधिकारीले ६ सय ६५ मत ल्याए । उपाध्यक्ष खुल्ला दुई जनाका लागि भएको प्रतिस्पर्धामा नकुल अर्याल र भीष्मराज ओझा विजयी भएका छन् । नकुल संस्थापन इतर र भीष्मराज संस्थापनका हुन् । नकुलले ७ सय ७५, भीष्मराजले ६ सय ४० मत ल्याए । पराजित भएका राममणि दाहालले ५ सय ९५ तथा शेखर रेग्मीले ३ सय ९५ मत ल्याए । उपाध्यक्ष महिलामा संस्थापन इतरकी सलोजा दाहालले संस्थापनकी कल्पना शर्मालाई पराजित गरेकी छिन् । सलोजाले ७ सय २० मत ल्याउँदा कल्पनाले ६ सय १९ मत ल्याइन् । उपाध्यक्ष समावेशीमा दिपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष प्रदेश १ बाट डिल्लीराम खतिवडा विजयी हुँदा लवदेव ढुङ्गाना र हेमराज दाहाल पराजित भएका छन् । मधेस प्रदेशबाट अनिल कर्ण, बागमतीबाट डा. मुरारी अधिकारी, गण्डकीबाट ऋषिकान्त पौडेल, लुम्बिनीबाट माधवप्रसाद अर्याल, कर्णालीबाट राजेन्द्रबहादुर कार्की, सुदूरपश्चिमबाट प्रेम चुनारा र उपत्यकाबाट जीवन भण्डारी विजयी भएका छन् ।

महासचिवमा दिलिप पौडेलले जगन्नाथ दुलाललाई पराजित गरेका छन् । पौडेलले ८ सय ७८ मत ल्याए । यो महाधिवेशनकै पदाधिकारीमा सर्वाधिक मत हो । दुलालले मात्र ४ सय ५१ मत ल्याएका छन् । उपमहासचिवमा युवराज गौतम, रविन्द्र सुवेदी र कमल पन्त निर्वाचित भएका छन् । उपमहासचिव महिलामा सुलोचना गौतम र दिलिपाश्री अधिकारी निर्वाचित भएका छन् । उपमहासचिव समावेशीमा अभयकुमार राई निर्वाचित भएका छन् । यस्तै सचिवमा अशोक कुमार तिवारी, राधा खनाल निर्वाचित भएका छन् । कोषाध्यक्षमा माधव धिताल निर्वाचित भए । यस्तै महाधिवेशनले कन्द्रीय लेखा समितिमा पदमराज जोशी, गिरीराज पोखरेल, घनश्याम पौडेल, पुजा शर्मा र सृजना कुमारी गौतम रहेका छन् । केन्द्रीय सदस्यमा पाल्पाकी शुसिला रेग्मी र गुल्मीका कौरव खत्री निर्विरोध भएकहा छन् । युनियनको महाधिवेशनले ३३ पदाधिकारी सहित १ सय ४२ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । १ हजार ३ सय ९२ मत खसेकामा ६ मत बदर भएको थियो । २०७१ भदौमा पोखरामा सम्पन्न आठौं महाधिवेशनबाट बद्री सिग्देल नेतृत्वमा आएका थिए । त्यसयता पटक पटक युनियनको महाधिवेशन सर्दै आएको थियो । जसले गर्दा युनियनभित्र मात्रै होइन, काँग्रेसभित्र पनि नेतृत्वको आलोचना हुँदै आएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update