Shittalpati
नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौं,  नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । एकीकृत समाजवादीबाट नियुक्त भएका पाँच जना मध्ये चार जना मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नवनियुक्त मन्त्रीहरु जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकासमन्त्री, भवानीप्रसाद खापुङ स्वास्थ्य, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई राष्ट्रपति भण्डारीले शपथ खुवाएकी हुन् ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ खुवाएका छन् । शपथपछि मन्त्रीहरुले सोमबार नै कार्यभार सम्हाल्दैछन् । एकीकृत समाजवादीका मन्त्री ठूलो विवादपछि आइतबार फेरिएका हुन् । पार्टीले फिर्ता बोलाउने निर्णय गरेपछि पार्टी भित्र चरम विवाद सिर्जना भएको थियो । बजेटलाई कारण देखाउँदै समाजवादीको निर्णय कार्यान्वयन धकेलिँदै आएको थियो । एकीकृत समाजवादीको सिफारिसबमोजिम प्रधानमन्त्री देउवाले आइतबार मन्त्री हेरफेरको सूची राष्ट्रपति भण्डारीसमक्ष पठाएका थिए । त्यसपछि चार मन्त्री र एक राज्यमन्त्री परिवर्तन भएका हुन् । यसअघि उक्त पार्टीबाट प्रेमबहादुर आले संस्कृतिमन्त्री, रामकुमार झाँक्री सहरी विकासमन्त्री, कृष्णकुमार श्रेष्ठ श्रममन्त्री र विरोध खतिवडा स्वास्थ्यमन्त्री थिए । उनीहरू सरकारबाट बाहिरिएका छन् ।

 

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update