Shittalpati
नेपाली काँग्रेस रम्भाका नेता फाल सहित ४ जना एमालेमा प्रवेश

कृष्ण पोखरेल
पाल्पा, नेपाली काँग्रेस रम्भा गाउँपालिकाका नेता अशोक कुमार फाल सहित ४ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले पार्टी कार्यालय तानसेनमा पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा काँग्रेस नेता फाल सहित ४ जना कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन । नेता फाल सहितका कार्यकर्तालाई एमाले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे र लुम्विनी प्रदेशका सांसद एवं निवर्तमान जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्यले टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन । एमाले प्रवेश गर्नेहरुमा खुम बहादुर गाहा, कमल घर्तिमगर र खिल बहादुर घर्तिमगर रहेका छन् ।

फाल २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट रम्भा गाउँपालिकाको उम्मेदवार बनेका थिए । काँग्रेस भित्रको गुठउपगुठको कारण काम गर्ने अवसर नपाएको, पार्टी सिद्धान्त भन्दा पनि व्यक्तिगत नियर्णकै कारण पार्टीमा मुल्याङकन नभएकाले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको नेता फालले बताए । आजदेखी एमालेको निति सिद्धान्तमा रहेर रम्भावासीको सामाजिक काममा सक्रिय हुने, जनतालाई आर्थिक रुपमा माथि उठाउने गरी काम गर्ने, व्यक्तिगत हित भन्दा माथि उठेर काम गर्ने नेता फालले बताए । २०५३ सालमा नेकपा एमालेको राजनीति गरेको भएपनि त्यसपछी नेकपा माओवादीको राजनीति गरेको, २०७३ सालपछी नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहेको नेता फालले बताए ।

पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई विभिन्न जिम्मेवारी लगाउने, जनताको काममा खटाउने प्रदेश सांसद नारायण प्रसाद आचार्यले बताए । जनताको पार्टी भनेकै एमाले भएको, ५ दलिय गठवन्धनको बावजुत पनि एमाले पाल्पामा पहिलो पार्टी भएको, गठबन्धनलाई भन्दा जनताले एमालेलाई माया गरेको नेता आचार्यले बताए । पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेले अशोक फाल जस्ता नेता तथा कार्यकर्ता पार्टीलाई आवश्यकता रहेकाले सोही अनुसारको जिम्मेवारी प्रदान गरिने बताए । कार्यक्रममा एमाले पार्टी सचिव रामजी पोखरेल, उप सचिव टिका बहादुर थापा, तानसेन अध्यक्ष गुराश आत्रेय, रम्भा गाउँपालिका इञ्चार्ज विष्णु प्रसाद भण्डारी लगायतको सहभागिता थियो । पार्टी प्रवेश कार्यक्रमको सञ्चालन रम्भा गाउँपालिकाका अध्यक्ष योगेन्द्र गैरेले गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update