Shittalpati
विजय उत्सव, तानसेनमा २५ वर्षपछि एमालेले गुमायोे विरासत

रामचन्द्र रायमाझी
पाल्पा, गालामा रातो अवीर खादै खादाले भरिएको घाँटी । हातमा पार्टीका झण्डा । सयौंको भीडभाड । जेठ महिनाको उखरमाउलो गर्मीमा पनि खुसीमा रमाउँदै नाचगान गरेका दृश्य बुधबार पाल्पाको सदरमुकाम तानसेन बजारमा देखियो । २५ वर्षदेखि नेकपा एमालेले एकछत्र रुपमा शासन गरेको तानसेनमा काँग्रेस–माओवादीले आफ्नो पक्षमा लिएपछि काँग्रेस सहितको पाँचदलीय गठबन्धनका नेता कार्याकर्ता सहित तानसेनवासी उत्साहित हुँदै विजयी उत्सवमा सहभागी भए । एउटै पार्टी, एउटै व्यक्ति, एकै प्रवृत्ति भएका व्यक्तिको नेतृत्वमा सञ्चालन हुँदै आएको तानसेन नगरपालिका फरक दल, फरक व्यक्तिको नेतृत्वमा पुगेको भन्दै यहाँका नागरिकहरुले विजयी उत्सव मनाए ।

२०५४ देखि निर्वाचन जित्दै आएको नगरमा २५ वर्षपछि नेकपा एमालेले आफ्नो विरासत गुमाएको छ । तानसेन नगरपालिकामा २०४९ मा नेपाली काँग्रेसका धिरेन्द्रप्रसाद श्रेष्ठ अत्याधिक मतका साथ नगर प्रमुखमा विजयी भएका थिए । त्यस यताका निर्वाचन भने एमालेले जित्दै आयो । २०५४ मा नेकपा एमालेका अशोककुमार शाहीले नगरप्रमुख जितेका थिए । ०५४ देखि नै एमालेले आफ्नो वचश्व राखेको तानसेनमा पुनः २०७४ को स्थानीय निर्वाचनमा पनि कायमै राख्यो । त्यति बेला पनि नगर प्रमुखमा अशोक कुमार शाही नै निर्वाचित भए । काँग्रेसलाई विभिन्न समयमा हुने निर्वाचनमा आफ्नो पक्षमा जित्न निकै सकस भयो । एमालेले आफ्नो गढ सावित गर्दै पटक–पटक विजयको झण्डा फहरफराउदै आयो । तानसेन प्रदेश र संघीय निर्वाचनमा समेत एमाले उम्मेदवारका लागि नै निर्णायक शक्तिका रूपमा देखियो । जसका कारण विजय प्राप्त पनि गर्‍यो । हरेक निर्वाचनमा यहाँको मत नै नेकपा एमालेका उम्मेदवारका लागि सति सावित भयो । यस पटकको स्थानीय निर्वाचनमा पनि एमालेले जित्ने पालिकामा तानसेन एक नम्बरमै थियो । उम्मेदवारी दर्तादेखि मत गणनासम्मको अवस्थासम्म एमालेले तानसेन गुमाउनेमा कुनै आशासमेत गरेको थिएन । तर अहिलेको स्थानीय निर्वाचनमा तानसेनमा एमालेले लजास्पद हार बेहोरेको छ । एमालेको गढमा नेपाली काँग्रेस सहितको गठबन्धनले विजयको झण्डा फहराएको छ । प्रमुखमा काँग्रेसका सन्तोषलाल श्रेष्ठ र उपप्रमुखमा माओवादीकी प्रतिक्षा सिंजाली ठूलो मतान्तरसहित तानसेनमा उदाएका छन् । १४ वडा मध्ये १० वटा वडामा अध्यक्ष सहित तानसेनमा काँग्रेसले धेरैपछि विजयको झण्डा गाडेको हो ।

लामो समय एकछत्र रुपमा एमालेले शासन गरेको तानसेन अहिले आफ्नो पक्षमा ल्याउन सफल भएको गठबन्धनका संयोजक तथा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताए । उनले यो जित कुनै पार्टीको नभई नगरभित्रका गरिब, विपन्न, असाहय, वृद्धवृद्धा, युवाहरुको भएको बताए । सभापति श्रेष्ठले भने ‘अब यहाँका नागरिकको जीवनस्तर उकास्नेदेखि तानसेनलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउने जिम्मेवारी निर्वाचित जनप्रतिनिधिहरुलाई आएको छ । सोही अनुरुप काम गर्ने विश्वास समेत लिएको छु ।’ लामो समयसम्म गाउँ गाउँमा गरिबी, अभाव, अशिक्षा, विभेद खेपी रहेका नागरिकहरुको घरका धूरीमा सूर्यचिन्ह झण्डा बाहेक अरु केही हुन नसकेको भन्दै सभापति श्रेष्ठले अब त्यस्ता काम र गतिविधिहरुलाई रोक्न काँग्रेसले सबै पालिकामा आफ्नो नेतृत्व लिने गरी अगाडि बढेको बताए । विजयी उत्सव पछिको कोणसभामा बौल्दै नेकपा एकिकृत समाजवादीका जिल्ला सचिव मोहन गैरे, नेकपा माओवादीका केन्द्रीय सदस्य अनिल किशोर घिमिरे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, दिनेश रावल, नेपाली काँग्रेस तानसेनका नगरसभापति सूर्वमुनी शाक्य, नगर सचिव शैलेन्द्र भट्टराई लगायतले २५ वर्षदेखि तानसेनमा संकलन भएको फोहोरलाई सफा गर्ने दिशामा लाग्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरे । लामो समय एउटै पार्टीले शासन चलाउँदा भ्रष्टाचार, अनियिमताका कारण तानसेन फोहोर र दुर्गन्धित बन्दै गएकाले अब सफा गर्ने दायित्व जनप्रतिनिधिहरुको काँधमा आएको उनीहरुले बताए । उनीहरुले मानसिकसँगै तानसेनको फोहोर व्यवस्थापनमा समेत ध्यान दिन नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

सोही अवसरमा नगर प्रमुखमा निर्वाचित सन्तोषलाल श्रेष्ठ, उपप्रमुखमा निर्वाचित प्रतिक्षा सिंजाली र वडा १२ बाट निर्वाचित वडा अध्यक्ष मेजरसिं केसीले जनताको चाहाना र निर्वाचनमा गरेका संकल्प अनुसार आफुहरुले काम गर्ने बताए । उनीहरुले तानसेनलाई देशकै नमूना नगरपालिकाका रुपमा लैजाने प्रतिवद्धता व्यक्त गरे । तानसेनमा १४ वटा वडा मध्ये गठबन्धनले १० र नेकपा एमालेले ४ वटा वडामा विजयी हासिल गरेको छ । वडा १ मा गठबन्धनतर्फबाट काँग्रेसका सुनिलकुमार बस्याल, २ महेश्वरलाल श्रेष्ठ, ३ मा बाबुरत्न शाक्य, ४ मा हेमन्त राज शाक्य विजयी भए । वडा ५ को वडाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका रामबहादुर रावल, ६ मा काँग्रेसका सागरमान मर्हजन, ७ मा प्रदीप खनाल विजयी भए । यस्तै वडा ८, ९, १० र १४ मा नेकपा एमालेका उम्मेदवारहरु क्रमशः सोमनाथ अर्याल,राजेशकुमार अर्याल र हिमलाल पंगेनी, शोभाखर भट्टराई वडाध्यक्षमा विजयी भए । वडा ११ मा काँग्रेसका यादवसिंह कार्की, १२ मा कांग्रेसकै मेजरसिंह केसी र १३ मा माओवादी केन्द्रका टुकप्रसाद भट्टराई विजयी भएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update