Shittalpati
काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन सभापति पन्थीको निर्देशन

गुल्मी, नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले आगामी तिनै तहको निर्वाचनमा काँग्रेसका सबै उम्मेदवारलाई विजयी बनाउन जिल्ला सदस्यहरुलाई निर्देशन दिएका छन् । “गुल्मी कांग्रेसको अठोट : सबल वडा, सक्षम टोल” अभियान अन्तर्गत नेपाली कांँग्रेस वडा कार्य समिति धुर्कोट गाउँपालिका वडा नं. २ को आयोजनामा कटौंजेमा भएको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत सभापति पन्थीले नेपाली कांग्रेस जिल्ला कार्य समितिका सम्पुर्ण सदस्यलाई यस्तो निर्देशन दिएका हुन् । उनले जिल्लामा कांग्रेस पार्टीका सबै उम्मेदवारलाई विजयी बनाएमा मात्र जिल्लाले विकासमा फड्को मार्ने भन्दै एकताबद्ध कांग्रेस निर्माण गरेर गुल्मीमा काँग्रेसलाई पहिलो पार्टी बनाउन सबैलाई आग्रह गरे ।
जिल्लामा कांग्रेस पार्टीलाई सबल र सक्षम पार्टी बनाउन सबै लाग्नुपर्ने सभापति पन्थीले बताए । एकताबद्ध कांग्रेस निर्माण गर्नु अहिलेको आवश्यकता रहेको भन्दै सभापति पन्थीले पार्टीलाई चुस्त दुरुस्त बनाउनका लागि हामी सबै एकढिक्का हुनुपर्ने बेला आएको बताए । सबल वडा र सक्षम टोल भएमा मात्र गुल्मी जिल्लामा कांग्रेस पार्टी पहिलो बन्ने भएकोले टोल समिति जिल्लाका सबै टोलमा गठन गर्नुपर्ने उल्लेख गरे । लोकप्रिय एवम् सबैको पार्टी बनाउन टोल समितिको अत्यन्तै महत्वपूर्ण रहेको भन्दै उनले कर्मको आधारमा पार्टीका साथीहरूको मूल्याकंन हुने भएकोले सबैलाई कर्ममा लाग्न आग्रह गरे । कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दर्जनौं कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि प्रेमनारायण भण्डारी, महेन्द्र प्रसाद भण्डारी, प्रदेश क्षेत्रीय सभापति रेखा कुमार जिसी, जिल्ला सदस्य पदम विष्ट, सुनिता जिसी कुँवर, नवीन जिसी, नेपाली कांग्रेस धुर्कोट गाउँपालिका सभापति हरि बहादुर थापा, प्रदेश अधिवेशन प्रतिनिधि प्रकाश पोख्रेल, नेपाल महिला संघ नेतृ सावित्रा थापा, नेविसंघ जिल्ला सभापति झविन्द्र पाण्डेय लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम वडा सभापति घन बहादुर खड्काको सभापतित्व,वडाका उपसभापति विष्णु थापाको स्वागत ,कृष्ण केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update