Shittalpati
गुल्मीको इस्मामा भएको अनियमितता र भ्रष्टाचारविरुद्ध काँग्रेसको प्रदर्शन

गुल्मी, गुल्मीको इस्मा गाउँपालिकाले अनियमितता र भ्रष्टाचार गरेको भन्दै नेपाली काँग्रेस इस्मा गाउँपालिकाले बिरोध गरेको छ । सोमबार गाउँपालिकाको कार्यालय नजिकै रहेको स्वास्थ्यचौकीको हलमा गाउँसभा चलिरहेकै समयमा नेपाली काँग्रेस इस्मा गाउँपालिकाले सोही हलबाहिर बिरोध कार्यक्रम गरेको हो ।

नेपाली काँग्रेस इस्मा गाउँपालिकाको आयोजनामा नेपाली काँग्रेस गुल्मीका सचिव भगत सिंह खड्काले नेतृत्व गर्दै क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ का सभापति झबिन्द्र अर्याल, इस्मा गाउँपालिकाका सभापति कृष्ण प्रसाद रिजाल, वडाका सभापतिहरु र प्रतिनिधिमूलक कार्यकर्ताको उपस्थितीमा कोभिड–१९ संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गाउँपालिकाले गरेको अनियमितता र भ्रष्टाचारबिरुद्ध आफहरुले कार्यक्रम गरेको नेपाली काँग्रेस इस्मा गाउँपालिकाले जनाएको छ ।

बिरोध कार्यक्रममा सहभागी नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले प्लेकार्डहरु बोक्नुका साथै नारा लगाएर बिरोध प्रदर्शन गरेका थिए । कार्यक्रममा सहभागीहरुले इस्मा सरकार सदाचारी बन, लेन्थवर्करको कर्म–एमाले नेताको घरमा, अतिभयो सरकार–इस्मामा भ्रष्टाचार, लेन्थवर्कर एमालेको घरमा–इस्मा सरकार अदालतमा, इस्माली जनताको आवाज–स्थानीय सरकार नाजवाफ, इस्माली जनताको आदेश–अघि बढ काँग्रेस, छानविन समिति र लेखा समितिको प्रतिवेदन सार्वजानिक गर, इस्मा सरकार–खबरदार, भ्रष्टाचारमा कागती–दोषीमा भारती, न्यायिक समिति कहाँ छ–अदालतमा गएको छ लगायतका प्लेकार्ड बोक्दै सोही कुराहरु नारा लगाएका थिए ।

इस्मा गाउँपालिकाका सभापति कृष्ण प्रसाद रिजालले बाध्य भएर बिरोध गर्नुपरेको बताएका छन् । गएको वर्ष कूल २२ लाख ५० हजार रुपैयाँको कागती खेती प्रर्बद्धन कार्यक्रममा १२ लाख ५० हजार रुपैयाँ कर्मचारीले अनियमितता गरेको भनेर जनप्रतिनिधिहरुलाई जनप्रतिनिधिले नै उम्काएको इस्मा गाउँपालिकाका सभापति रिजालको आरोप छ । त्यस्तै नेकपा एमालेका स्थानीय नेता मान बहादुर बस्नेतको घरमा लेन्थवर्करलाई काम गर्न गाउँपालिकाले पठाएको बिषयमा पनि काँग्रेस इस्माले प्रश्न उठाएको छ । यी यस्तै बिषयमा नेपाली काँग्रेस इस्मा गाउँपालिकाले प्रेस विज्ञप्ती निकालेको बिषयमा गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले गुल्मी जिल्ला अदालतमा नेपाली काँग्रेस क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ का सभापति झबिन्द्र अर्यालबिरुद्ध मुद्धा दायर गरेको बिषय र गाउँपालिकाले आफु उम्कन प्रेस विज्ञप्ती जारी गरेको बिषयमा गाउँसभा चलिरहेको समयमा आफुहरुले बिरोध प्रदर्शन गरेको इस्मा गाउँपालिकाका सभापति रिजालले जानकारी दिए । यसअघि पनि नेपाली काँग्रेस इस्मा गाउँपालिकाले पटकपटक गाउँपालिकालाई ध्यानकर्षण गराएको रिजालले बताए । उनले इस्मा गाउँपालिका अनियमितता र भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए ।

त्यस्तै गुल्मीको क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ का सभापति झबिन्द्र अर्यालले गाउँसभा चलिरहेको समयमा आफुहरुले बिरोध गर्नुको कारण सरकारी तलब भत्ता बुझ्ने लेन्थवर्करहरुलाई नेकपा एमालेका नेता तथा कार्यकर्ताको घरमा काम लगाउनु भएको बताए । इस्मा सरकारले नियोजित रुपमा विज्ञप्ती निकालेर आफुहरु उम्कन खोजेको उनको आरोप रहेको छ । इस्मा गाउँपालिकाले अनियमितता र भ्रष्टाचार लुकाउनको लागि अदालतमा मुद्धा दायर गर्ने समेत काम भएको अर्यालले बताए । आगामी दिनमा कोभिड–१९ संक्रमण ब्यापक रुपमा नफैलिएको खण्डमा ठूलो जनसहभागितामा इस्मा गाउँपालिकाको अनियमितता र भ्रष्टाचारबिरुद्ध डटेर लड्ने तयारी भइरहेको पनि अर्यालले जानकारी दिए ।बिरोध कार्यक्रम पछि संचारकर्मीसँग प्रतिक्रिया दिदै गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले १५ शैयाको अस्पताल निर्माण गर्दा स्थानीय मान बहादुर बस्नेतको जग्गा पुरिएका कारण लेन्थवर्करले त्यहाँ काम गरेको बताइन् । उनले न्यायिक समितिको कार्यसम्पादन हेर्न आग्रह गर्दै न्याय खोज्नको लागि आफुलाई सार्वजानिक ठाउँमा भ्रष्टाचारी भन्नेहरुबिरुद्ध अदालत पुगेको जानकारी दिइन् ।

बिरोध कार्यक्रमपछि इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले संचारकर्मीसँग प्रतिक्रिया दिदै कागती खेती प्रबद्र्धन कार्यक्रमको सम्बन्धमा छानविन आयोगको प्रतिवेदनमा फेरिस्त भएको बताए । प्रतिवेदन अनुसार कर्मचारीलाई बर्खास्त गरेको र सबै कुरा प्रतिवेदनमा उल्लेख भएको भन्दै गाउँपालिका अध्यक्षबिष्टले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरेर गएको तर त्यसको जवाफ नआएको बताए ।

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update