Shittalpati
पाल्पामा काँग्रेस प्रवेश गर्नेको लहर

पाल्पा,पछिल्लो समय पाल्पामा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहर बढ्दै गइरहेको छ । कम्युनिष्टहरुबाट असन्तुष्ट हुँदै नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर बढ्दै गएको हो ।

जिल्लाको रामपुर नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिलका,रम्भा गाउँपालिका लगायतका स्थानीय तहमा काँग्रेस प्रवेशको लहर बढेको छ । बहुमत पाएर सरकार सञ्चालनको अवसर पाएका कम्युनिष्टहरु एक आपसमा टुड्फुड्को राजनीतिमै तल्लिन हुँदै गएकाले आफुहरु पार्टी परिवर्तन गरी काँग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरु बताउँछन् । पाल्पाका उर्जाशील युवा नेता तथा नेपाली काँग्रस पाल्पाका जिल्ला सभापति वीरबहादुर राना लुम्बिनी प्रदेशको उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री भए लगत्तै जिल्लामा काँग्रेस प्रवेश गर्नेहरु बढेको नेपाली काँग्रेसका युवा नेता हिमालदत्त श्रेष्ठले बताए । उनका अनुसार पछिल्लो केही दिन यता जिल्लामा दर्जानौ युवाहरु काँग्रेस प्रवेश गरेका छन् । तिनाउ र रैनादेवी छहर गाउँपालिकाको कचल,सत्यवती, बल्डेङ्गगढी, सत्यवती, जुठामा तीन दर्जान युवाहरु एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन् । त्यस्तै रामपुर, रिब्दीकोट, बगनासकाली, रम्भा लगाएतका स्थानीय तहका विभिन्न स्थानबाट चार दर्जानबढी युवाहरु काँग्रेसमा प्रवेश गरेको काँग्रेसका युवा नेता श्रेष्ठले बताए ।

नवप्रवेशीहरुलाई नेपाली काँग्रेसका जिल्ला सभापति तथा लुम्बिनी प्रदेशको उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर रानाले पार्टी सदस्यता दिदै स्वागत गरेका थिए । पार्टी प्रवेश गर्ने युवाहरुले आफु आवद्ध पार्टीमा भएका गतिविधिहरुप्रति चरम असन्तुष्टि जनाउँदै काँग्रेसले अगाँलेको समाजवादको सिद्धान्तमा एकताबद्ध हुन काँग्रेसमा प्रवेश गरेको बताएका छन् । पार्टीमा नयाँ प्रवेशीहरुलाई स्वागत गर्दै सभापति रानाले कम्युनिष्टहरुबाट जनताहरु आजित भइरसकेकाले पूर्वी पाल्पादेखि पश्चिमसम्मका युवाहरु यतिबेला काँग्रेस प्रवेश गर्न थालेको बताए । जिल्लामा अब यसैगरी नेपाली काँग्रेसमा प्रवेश गर्नेको लहर बढ्दै जाने सभापति रानाले विश्वास व्यक्त गरे । उनले नयाँ प्रवेशीहरुलाई बीपीले परिकल्पना गरेको समाजवादको बाटोमा विचल्लित नभई एकाकार हुन समेत सबैलाई आग्रह गरे । सभापति रानाले काँग्रेस सधैँ गरिब, दलित, अन्याय, अत्याचार, भष्ट्रचारका विरुद्ध लड्ने पार्टी भएको बताए । कम्युनिष्ट नेतृत्वको असफलताले छिन्नभिन्न परिपाटी बढ्दै जान थालेपछि कम्युनिष्ट युवाहरु नेपाली काँग्रेसमा प्रवेश गर्ने लहर बढ्दै जान थालेको हो । कम्युनिष्टमा सक्रिय रहेका युवाहरु काँग्रेसमा प्रवेश गर्ने लहरले कम्युनिष्ट पार्टीमा विश्वासनियता हटेको देखिन्छ ।

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update