Shittalpati
पाल्पाका काँग्रेस सभापति राना बने लुम्बिनी प्रदेश सरकारमा मन्त्री

रामचन्द्र रायमाझी

पाल्पा, लुम्बिनी प्रदेशका सांसद् तथा नेपाली काँग्रेस पाल्पाका सभापति, युवा नेता वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन् । उनले आइतबार प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार रानालाई मन्त्री नियुक्त गरेका हुन् । उनी काँग्रेसको कोटाबाट मन्त्री बनेका छन् । रानासँगै पाल्पाका तीन जना सांसदहरु लुम्बिनी प्रदेशको मन्त्री बनेका छन् । यस अघि जनता समाजवादीबार्टीबाट श्रम रोजगार तथा यातायात मन्त्रीमा पूर्मती ढेंगा नियुक्त भइसकेकी छन् । यस्तै नेकपा (एकीकृत समाजवादी)की सांसद रमा घर्ती कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेकी छन् । तीनै जना सांसद पाल्पाका समानुपातिक सांसदहरु हुन् । जिल्लाले प्रदेश सरकारमा तीन जना मन्त्री पाएकोमा जिल्लावासी उत्साहित भएका छन् । उनीहरु सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिदै खुसी व्यक्त गरेका छन् ।

योसँगै प्रदेश मन्त्रिपरिषद्‍मा ६ मन्त्री र ४ राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री केसीले आइतबार नयाँ मन्त्री नियुक्त गर्दै १७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त सबै मन्त्रीहरुले आइतबार नै प्रदेश प्रमुख कार्यालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ लिएका छन् । ६ मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले र ४ राज्यमन्त्रीलाई मुख्यमन्त्री केसीले शपथ गराएका हुन् । काँग्रेस, माओवादी, जसपाको गठबन्धनबाट गत साउन २८ मा ७ सदस्यीय मन्त्रीमण्डल गठन भएको थियो । लुम्बिनीमा काँग्रेसका ४ मन्त्री र २ राज्यमन्त्री, माओवादीको मुख्यमन्त्रीसहित ४ मन्त्री र २ राज्यमन्त्री, जसपाका ३ मन्त्री, नेकपा (एकीकृत समाजवादी)का एक मन्त्री र एक स्वतन्त्र सांसद पनि मन्त्री बनेका छन् । काँग्रेसबाट मन्त्री बनेका वन वातावरण तथा भूसंरक्षण मन्त्री बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँ रहेका छन् । त्यस्तै माओवादी केन्द्रबाट मन्त्री बनेका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री दाङका इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्री बनेका बर्दियाका तिलकराम शर्माले पनि आइतबार शपथ लिएका छन् । त्यस्तै काँग्रेसबाटै बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विकले पनि शपथ लिएका छन् । माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी दाङकी विमला खत्री वली र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री बनेकी सुष्मा यादवले पनि शपथ लिएका छन् ।

को हुन् राना ?

२०२२ साल जेठ १५ गते पाल्पा बगनासकाली गाउँपालिका खानीगाउँमा वीरबदुर रानाको जन्म भएको हो । बुवा टिकाराम राना र आमा गोमती रानाको गर्भबाट जन्मेका रानाको परिवार राजनीतिक पृष्ठभूमिबाट आएको हो । २०४५ देखि राजनीतिक यात्रा सुरु गरेका राना तरुणदलदेखि नेपाली काँग्रेसको क्षेत्रिय सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, पार्टी जिल्ला सह–सचिव हुँदै जिल्ला सभापति भएका हुन् । राना नेपाली काँग्रेसको १२ महाधिवेशनबाट निर्वाचित जिल्ला सभापति बनेका थिए भने १३ औं महाधिवेशनमा सर्वसहमत रुपमा पुनः पार्टी सभापतिको जिम्मेवारी सम्हाल्दै आएका छन् । २०७० सालको आमनिर्वाचनमा पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सांसदको उम्मेदवारी बनेका राना तत्कालिन एमालेका सोमप्रसाद पाण्डेयसँग झिनो मतको अन्तरले पराजित भएका थिए । उनी लुम्बिनी प्रदेशमा समानुपातिक तर्फबाट उम्मेदवारी दिई सांसद बनेका हुन् ।

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update