Shittalpati
‘केपी ओलीका कारण दरबार छोडेर चौरमा आइयो’

कृष्ण पोखरेल

पाल्पा,  नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले केपी ओलीका कारण आफुहरु विद्रोह गरेर चौरमा आएको बताएका छन् । ओली रायमाझी पथमा गएका कारण आफुहरु विद्रोह गरेर चौरमा आएको उनले बताए । शनिबार पाल्पाको तानसेनमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संविधानको रक्षाका लागि दरवार छोडेर आफुहरु चौर आउनु रहर नभई बाध्यता भएको उल्लेख गरे ।

उपाध्यक्ष पाण्डेले दरवारले च्यापेर हामीलाई नै सिध्याउने अवस्था आएपछी विद्रोह गरेर नेपालको संविधान, लोकतन्त्र रक्षाको लागि चौरमा आउनु परेको बताए । उनले एमालेबाट विद्रोह नगरेको भए २०७२ सालको नयाँ संविधान च्यातिने, लोकतन्त्र ध्वस्त भई विदेशीको ईशाराम निरकुंश अधिनायकवादी शासनले जडा गाड्ने अवस्था सिर्जना हुने धारणा व्यक्त गरे ।

एमाले अध्यक्ष ओली विघटित शोभियत संघका महासचिव मिखायल गर्भाचोकले जस्तै कम्युनिष्टको खोल ओढेर नेपालको कम्युनिष्ट आन्दोलनलाई छिया छिया बनाउने काममा लागेकाले आफुहरु बाध्य भएर विद्रोह गर्नुपरेको उपाध्यक्ष पाण्डेले बताए । एमालेमा बसेका भिम रावल, घनश्याम भुसाल जस्ता नेताहरुलाई केपी ओलीले जिम्मेवारी विहिन बनाउदै घर न घाटको अवस्था पु¥याउने दावी गरे । ढिलोमा एमालेको मंसिरमा हुने महाधिवेशन पछी अधिकाशं एमालेका बरिष्ठ नेताहरु एकिकृत समाजवादीमा आउने उपाध्यक्ष पाण्डेले बताए ।

अहिले ओलीको स्वाभाव पार्टीमा एकलौटी गर्ने, आफ्नो भन्दा फरक विचार नसुन्ने, विधान महाधिवेशनको नाटकमा समेत माक्स, लेनिन, पुष्पला, मदन र मनमोहनका फोटाहरु हटाएर सामन्ती राजा महाराजा जस्तै आफ्नै फोटो काठमाडौका गल्ली गल्ली, पोल–पोलमा झुण्डाएर म भन्दा ठूलो कोही छैनन् भन्ने अहमता अझै रहेको एसका उपाध्यक्ष पाण्डेले बताए । अहिले पानीका बोतलमा ओलीका तस्विर छन् भोली रक्सीका वियरका बोतलमा समेत ओलीका तस्विरहरु आउने पाण्डेले बताए । आगामी निर्वाचनमा एकिकृत समाजवादीले समानुपातिकमा २१ र प्रत्यक्ष निर्वाचनमा २१ गरी कम्तीमा ४२ सिट जित्ने दावी गरे । निर्वाचनमा माओवादी केन्द्र, जनतासमाजवादी, नेकपा मोहन बैध, नेत्रविक्रम चन्द माओवादी र जनमोर्चा बीच चुनावी तालमेल हुने निश्चित रहेको उपाध्यक्ष पाण्डेले अगुवा कार्यकर्ताहरुलाई जानकारी गराए ।

कार्यक्रममा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले दलिय व्यवस्थामा दल कमजोर हुनु भनेको व्यवस्था कमजोर हुने बताए । उनले ओलीका कारण दल कमजोर भन्दै गएको आरोप लगाए । उनले भने‘ओली विधी पद्दती अनुरुप कहिल्यै चलेनन्, त्यसैको प्रतिस्वरुप यो विद्रोह गरी नयाँ पार्टीको जन्म भएको हो ।’ ओलीले बहुमत पाएर पनि काम गर्न नसकेको भन्दै उनले काम गर्नेहरुलाई समेत काम गर्ने वातावरण सिर्जना नगरी कार्यकर्तामा भ्रम छर्ने काम गरेको बताए । नेता पाण्डेले नेकपा एसको विधान भिम रावल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुले संशोधन गरे तर पछिल्लो समयमा उनैले धोका दिएको स्पष्ट पारे । आगामी निर्वाचनमा केपी ओलीको नेतृत्व रहेसम्म एमाले पतन हुँदै २०१७ सालको केशरजंग रायमाझीको जस्तै विघटनको अवस्थामा पुग्ने निश्चित रहेको केन्द्रिय सदस्य पाण्डेले बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरेले एकिकृत समाजवादीलाई स्थानीयत, प्रदेश र संघको निर्वाचनमा आधा क्षेत्रमा विजय गराउने गरी संघगठन विस्तार गर्ने दावी गरिन । अगुवा कार्यकर्ता भेलामा प्रदेश कमिटी सदस्य लेखनाथ पोखरेल, त्रिभुवन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण बहादुर कार्की, खेलकुद महासंघका प्रदेश संह संयोजक बसन्त जि.आर. युवा संघका केन्द्रिय सदस्य करुणा काफ्ले, सल्लाहकार समितिका सदस्य पदम अर्याल, जनप्रतिनिधी ईश्वरी प्रसाद श्रेष्ठ, जनजाती खुम बहादुर कुमाल लगायतले सम्वोधन गरेका थिए । भेलामा नारायणी खनालको अध्यक्षतामा, उपाध्यक्ष धनमाया पाण्डे, सचिव विष्णुमाया थापा, कोषाध्यक्ष मथुरा ढुंङ्गाना सहित ५१ सदस्यीय अखिल नेपाल महिला संघ, आशिष श्रेष्ठको अध्यक्षतामा उपाध्यक्ष द्धय भिमसरा थापा, यादव भुसाल, सचिव संजय घले, सह सचिव जोगल भुजेल र कोषाध्यक्ष अचुत पाण्डे सहित ७५ सदस्यीय युवा संघ, उमेश भण्डारी संयोजक र रोशन कडेल सह संयोजक रहेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी समेत गठन भएको छ । पार्टी अध्यक्ष खिमलाल पाण्डे ( कमल) को सभापतित्व, उपाध्यक्ष रमा घर्तीको स्वागत, सचिव मोहनलाल गैरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update