Shittalpati
‘पार्टीलाई एक ढिक्का बनाएर लैजान नगरसभापतिमा उम्मेदवारी’

पाल्पा, नेपाली कांँग्रेसको आसन्न १४ औं महाधिवेशनमा तानसेन नगरपालिकाको सभापति पदमा युवा व्यवसायी मोहन प्रसाद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका श्रेष्ठले शनिबार हुने नगर अधिवेशनका लागि शुक्रबार उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले पत्रकार सम्मेलन गरी काँग्रेस नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले पार्टीलाई एक ढिक्का बनाएर लैजान नगरसभापतिमा उम्मेदवारी दिएको बताएका छन् । उनले पार्टीभित्र एकताको सन्देश दिनुपर्ने खाँचो औल्याए । नगरलाई नमूना नगर बनाउने आफ्नो ध्येय रहेको उल्लेख गर्दै श्रेष्ठले पार्टीलाई बलियो बनाउने बताए । प्रत्येक वडामा भातृ संस्थालाई क्रियाशिल बनाउने, प्रशिक्षण दिई गुट र उपगुट अन्त्य गर्ने भूमिका खेल्ने उनले प्रष्ट्याए । दुई दशक लामो समयसम्म व्यवसाय र सामाजिक क्षेत्रमा क्रियाशील रहेका श्रेष्ठले पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तासँग छलफल गरी आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

पार्टीको संगठन बलियो बनाएर आगामी निर्वाचनमा पार्टी जिताउने क्षमता आफूमा रहेको उनले दाबी गरेका छन् । उनले पार्टीका शीर्ष नेतादेखि केन्द्रीय, क्षेत्र, जिल्ला र वडा तहका नेतासँग निकट रहेर काम गरेको अनुभव रहेको समेत बताए । पार्टीमा गुट उपगुटभन्दा एक ढिक्का बनाएर लैजानु पर्ने सोंच भएका उनले नगरको जिम्मा पाए पार्टीलाई अझै बलियो बनाउन सक्ने क्षमता आफूमा रहेको दाबी गरे । स्रोतका अनुसार उनीसँगै नगर सभापतिका प्रतिष्पर्धीका रुपमा शुवर्णमुनी शाक्य रहेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update