Shittalpati
‘माधव पक्षलाई राजनीतिक दलको रुपमा स्विकार्य हुँदैन’

कृष्ण पोखरेल
पाल्पा, नेकपा एमाले उपमहासचिव विष्णु पौडेलले माधव नेपाल समूहलाई नेकपा एमालेले राजनीतिक शक्तिको रुपमा कदापी स्विकार्न नसकिने बताएका छन् । नेकपा एमाले पाल्पाले तानसेनमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उपमहासचिव पौडेलले नेपालको कानुन अनुसार कुनै पनि पार्टी र संसदीय दलमा ४० प्रतिशत कायम हुनुपर्ने नियम भएपनि कानुन विपरित २० प्रतिशतको अध्यादेशको भरमा माधव समूहलाई राजनीतिक दलको रुपमा स्विकार्य गर्न नसकिने नेता पौडेलले प्रष्ट पारे । माधव नेपाल समूह प्रधानमन्त्री, सभामुख र विदेशी शक्तिको कृपाबाट प्रचलित कानुन विपरित बनाईदिएको अवैधानिक झुण्ड भएको उपमहासचिव पौडेलले आरोप लगाए ।

अहिलेको नेकपा एमाले विरुद्धको पाँच दलिय गठबन्धन अब धेरै दिन नटिक्ने ठोकुवा त्यसका आधारहरु भत्किदै गएको एमाले उपमहासचिव पौडेलले बताए । माधव समूहले पाँच दलिय गठबन्धनमार्फत चुनावमा जाने तयारी गरेपनि नेपाली काँग्रेसले माधव नेपालको आगामी निर्वाचनमा सहयोग नगर्ने प्रष्ट रणनीति बनाएको नेता पौडेलले दावी गरे ।

कार्यक्रममा उप महासचिव पौडेलले माधव नेपालको समूह पाँच छ महिना भित्र नेकपा माओवादी केन्द्रमा विलय हुने दावी समेत गरेका छन् । उपमहासचिव पौडेलले माओवादी प्रचण्डसँग विलय हुनको लागि नेपाल समूहले आधारहरु खोजीको लागि गृहकार्य शुरु गरेको आरोप लगाएका छन् । माओवादी अध्यक्ष प्रचण्डकै निर्देशनमा माधव नेपाल एमालेबाट अगल भएकाले माधव नेपाललाई माओवादीमा आफ्नो हैसियत कायम गरी दोस्रो अध्यक्ष बनेर देखाउन चुनौती दिएका छन् । नेकपा एमालेबाट माधव नेपाल अलग भएकोमा सबैभन्दा बढी खुसी प्रचण्ड लगायत माओवादी नेता र नेपाली काँग्रेसहरु भएको बताउँदै कोही खुसी हुदैमा एमाले शक्ती कमजोर नभएको एमाले महासचिव पौडेलले बताए ।

अगुवा कार्यकर्ताहरु भेलालाई एमाले केन्द्रिय सदस्य दलबहादुर राना, ठाकुर गैरे र दधिराम न्यौपानेले पार्टीमा अन्तरविरोध कलह भएपनि पार्टी भित्रै बहसबाट समस्या समाधान गर्न सकिने अवस्था हुँदा हुदै पार्टीबाट अलग भएर माधव नेपाल पक्षले आत्मघाती बाटो रोजेको बताए । पार्टी विभाजनमा जनताले २०५४ सालमा पनि स्विकार नगरेको र यसपटक पनि जनता सूर्यमै गोलबन्ध रहेको नेताहरुले दावी गरे । लुम्बिनी प्रदेश कमिटी सदस्य यादवबहादुर रायमाझीले पार्टी भित्र सबैपक्षको भावना समेटेर सबैलाई जिम्मेवारी दिएर काम गर्न नेतृत्वलाई सुझाव दिए । भेलामा प्रदेश कमिटी सदस्य झपेन्द्र बहादुर जिसी, लेखा आयोग सदस्य धनेन्द्रराज घिमिरे, तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख मिरा मरासिनी लगायतले सम्वोधन गरेका थिए । जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्यको अध्यक्षता, उपाध्यक्ष मोहन थापाको स्वागत र सचिव ओमबहादुर घर्तिमगरको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update