Shittalpati
लुम्बिनीका तीन मन्त्री सांसदबाट पदमुक्त

बुटवल,लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीनजना सांसद पदमुक्त भएका छन् । पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय हुन् ।

पार्टीको निर्णय विपरित सरकारमा सामेल भएको, दलको ह्वीप उल्लंघन गरेको भन्दै जसपाको उपेन्द्र यादव पक्षले १४ वैशाखमा तीनैजना सांसदलाई पदमुक्त गरेको थियो ।प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी दिएका हुन् । सांसदबाट पदमुक्त भएका तीनै जना मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा मन्त्री छन् ।

जसपाको उपेन्द्र यादव पक्षकै निर्णयका आधारमा १४ वैशाखमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयसँगै सुमन शर्मा रायमाझी पदमुक्त भएका थिए । तर सर्वोच्च अदालतले ३ जेठमा आफ्नो पक्षमा आदेश दिएपछि उनीहरु फेरि प्रदेशसभामा फर्किएका थिए । प्रदेशसभा सदस्य र पार्टी सदस्य समेत नरहने गरी कारवाही गरेको पत्र जसपा संसदीय दलमार्फत आएकाले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सभामुखले तीन सांसदलाई पदमुक्त गरेको सूचना टाँस्न लगाएको सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update