Shittalpati
सरकारले जनताको चाहाना र अपेक्षा अनुसार काम गर्नुपर्छ :   डा. महत

गुल्मी, नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकारले जनताको चाहाना र अपेक्षा अनुसार काम गर्नु पर्ने बताए । नेपाली काँग्रेस गुल्मीले सोमबार बिपी स्मृति भवन तम्घासमा आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतले जनताका चाहना र अपेक्षा बुझेर नै वर्तमान सरकारले काम गर्नु पर्ने बताएका हुन् ।

नेपाली काँग्रेस विधि र संविधानमा विश्वास गर्ने पार्टी भएका कारण जनताले यो सरकारप्रति ठूलो अपेक्षा गरेको भन्दै नेता महतले उक्त अपेक्षालाई पूरा गर्न सरकारलाई आग्रह गरे । ओली सरकारको ज्यादतिका कारण नेपाली काँग्रेसलाई अहिले अनपेक्षितरुपमा सरकार सञ्चालनको अवसर प्राप्त भएको उनको भनाई छ । नेता महतले नेपाली काँग्रेसको नेतृत्वको सही समयमा सही निर्णय गर्ने सुझबुझ र परिपक्वताले मुलुकमा विधिको शासनलाई स्थापित गर्न मद्दत पुगेको धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले यो अवस्थामा नेपाली काँग्रेसको काँधमा सरकार सञ्चालनको जिम्मेवारी आउनु भनेको अवसर र चुनौती दुवै उत्तिकै रहेको बताए । उनले सरकार सञ्चालनका लागि पार्टीले सजगता अपनाएर काम गर्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेस जिल्लाका सभापति भुवनप्रसाद श्रेष्ठले व्यक्तिभन्दा माथि उठेर मुलुक र पार्टीका लागि लाग्न नेतृत्व पंक्तिलाई सुझाव दिए ।

 

प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update