Shittalpati
काँग्रेसको तल्ला तहका सबै अधिवेशन स्थगित

हाम्रा संवाददाता
पाल्पा, नेपाली काँग्रेसको साउन १२ गते हुने भनिएको तल्ता तहका सबै अधिवेशन स्थगित भएका छन् । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा भएको पदाधिकारी तथा पूर्व पदाधिकारी बैंठकले साउन १२ गते हुने वडा अन्तर्गतका सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको काँग्रेस पाल्पाका सभापति वीरबहादुर रानाले बताए । उनका अनुसार निर्धारित गाउँ, नगर वडा अधिवेशन स्थगन गर्ने निर्णय भएको हो । क्रियाशील सदस्यताको ढिलाइ र जिल्लाहरूमा कोरोना संक्रमण बढ्दै गएकाले वडा तहका अधिवेशन स्थगित गर्नु परेको सभापति रानाले एनजेडीलाई जानकारी दिए ।

वडा तहका अधिवेशन स्थगित भएपछि आशन्न १४ औँ महाधिवेशनअन्तर्गत अन्य महाधिवेशन कार्यतालिका समेत प्रभावित हुने देखिएको छ । तर काँग्रेसले भने वडा तहको अधिवशेन स्थगन हुनुको अर्थ भदौ १६ गतेदेखि हुने महाधिवेशन पनि स्थगन हुने भन्ने नरहेको बताएको छ । केही जिल्लाको क्रियाशील सदस्यता वितरणमा विवाद चर्किएकाले महाधिवेशन कार्यतालिका भने प्रभावित हुने निश्चित देखिएको छ । काँग्रेसले महाधिवेशन र अन्य तहका अधिवेशन भने कायमै रहेको जनाएको छ ।

काँग्रेसले अधिवेशनको अर्को कार्यतालिका नबन्दासम्म सबै कार्यक्रम स्थगित गरेको हो । एकसाता भित्र मिति तय गरिने जनाइएको छ । यही साउन १२ गते क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदन केन्द्रीय नेतृत्वलाई बुझाउने र त्यसपछि मात्रै वडा अधिवेशनको नयाँ मितिबारे निणर्य हुने काँग्रेसले जनाएको छ ।

काँग्रेसले गत असार ४ गते पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो । संशोधित कार्यतालिका अनुसार गाउँ–नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँनगर अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गतेका लागि तोकिएको छ । त्यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एक भन्दाबढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ तथा प्रदेश अधिवेशन भदौ १ र २ गते का लागि निर्धारण गरिएको छ ।

 

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update