Shittalpati
गुल्मीमा पनि काँग्रेसले मनायो वी.पी. स्मृति दिवस

गुल्मी, नेपाली कांग्रेस गुल्मीले वी.पी. स्मृति दिवस मनाएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३९ औँ स्मृति दिवसको अवसरमा जिल्लास्थित पार्टी कार्यालय वीपी स्मृति भवन तम्घासमा एक औपचारिक कार्यक्रमको आयोजना गरि मनाइएको हो ।

वी .पी. कोइरालाको तस्बिरमा माल्यार्पण गरि जिल्लास्थित पार्टी कार्यालय परिसरमा बिरुवा रोपेर ३९ औं वी.पी. स्मृति दिवस मनाइएको हो । नेपाली काँग्रेस गुल्मीका भुवन प्रसाद सभापति श्रेष्ठले काँग्रेस पछिल्लो पटक सिद्धान्तमा अलमलिएको बताए । दीनदुखी र गरिबहरुका लागि काँग्रेसले स्पष्ट निति बनाउनुपर्ने उल्लेख गर्दै उनले महामानव कोइरालाले देखाएको बाटोमा हिड्नु पर्ने बताए । वीपीको राष्ट्रिय मेलमिलापको नीति र सैद्धान्तिक मान्यता अहिलेको सङ्कटपूर्ण अवस्थामा पनि नकार्न नसकिनेमा उनले जोड दिए । वर्तमान अवस्थामा नेपाली काङ्ग्रेसमा वीपीका विचार र सिद्धान्तको अभाव महसुस हुन थालेको बताए ।

नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तनमा योगदान दिँदै मुलुकलाई जोखिमपूर्ण अवस्थाबाट जोगाउन आफ्नो ज्यानको समेत चिन्ता नलिने वीपीको सम्झना गरेर उनको चिन्तनबाट प्रेरणा लिन आजको दिनको विशेष महत्व रहेको बताइएको छ । १०४ वर्षीय राणा शासनको समूल अन्त्यको लागि क्रान्ति गरेर नेपालमा प्रजातन्त्र स्थापनार्थ वीपीले पुर्याएको योगदान नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिएको सचिव खिलध्वज पन्थीले बताए ।

काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी, कोषाध्यक्ष हरिबहादुर खत्री सहित जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, विभिन्न भातृ तथा शुभेच्छुक संगठनका प्रमुखहरु लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update