Shittalpati
लुम्बिनी प्रदेशमा सत्ताको खेल

रामचन्द्र रायमाझी
बुटवल, लुम्बिनी प्रदेशका जनताहरु कोरोना महामारीसँग लडिरहेका बेला नेताहरु भने सत्ताको खेलमा लागेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेले आइतबार बिहानै नाटकीय रूपमा राजीनामा दिएपछि यहाँ सत्ताको खेल सुरु भएको हो । जनतालाई निषेधाज्ञाको पालना गर्न घरमै राखेर नेताहरु भने सत्ताको खेलमा लागेका हुन् । आइतबार बिहानै मुख्यमन्त्रीबाट राजीनामा गरेका पोखरेल दिउँसो पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीका रूपमा दोस्रोपटक नियुक्त भएका पोखरेल शपथ नलिँदै अल्पमतमा परेका छन् । अपरान ५ बजेका लागि शपथ तय भएको थियो । तर, एमालेभित्रको आन्तरिक विवाद र तत्कालीन नेकपाबाट निर्वाचित सांसदले माओवादी केन्द्रमा जाने निर्णय लिँदा पोखरेल संकटमा परेका हुन् । उनी पुनः मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका १ जना सांसदले आफ्नो पदबाट राजीनामा दिएका छन् भने अरु २ जनाले साथ छाडेका छन् । जसका कारण पोखरेल थप संकटमा परेका हुन् । कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दूगनारायण पाण्डेयले राजीनामा दिएका छन् । सभामुख पूर्णबहादुर घर्तीसमक्ष आइतबार दिउँसो नै पाण्डेले राजीनामा दिएका थिए ।


एमालेको सूर्य चुनाव चिÞन लिएर प्रदेश सभामा निर्वाचित कपिलवस्तु २ (२) का धर्म बहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (२) का अजय शाहीले मुख्यमन्त्री पोखरेललाई छोडेर विपक्षी गठबन्धन रोजेका छन् । उनीहरूले माओवादी र काँग्रेस गठनबन्धनका मुख्यमन्त्रीका उम्मेदवार कुलप्रसाद केसीको पक्षमा हस्ताक्षर गरे । यस्तै दाङ प्रतिनिधिसभा, प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट उपनिर्वाचनमा निर्वाचित विमला वलीले माओवादी केन्द्र रोजेकी छन् । उनी एमाले र माओवादी एकतापछि बनेको नेकपाबाट निर्वाचित भएकी थिइन् । पोखरेलले राजीनामा स्वीकृतलगत्तै सबैभन्दा ठूलो दल एमालेको संसदीय दलको नेताको हैसियतले बहुमत प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि निवेदन दर्ता गराएका थिए ।


निवदेन दर्ता पछि उनलाई तत्कालै मुख्यमन्त्री नियुक्त गरिएको थियो । तर एक सांसदको राजीनामा र दुई सांसदले साथ छोडेपछि उनले पुनः बहुमत गुमाएका हुन् । यो सँगै उनको नियुक्ति विवादमा परेको छ । विपक्षीले उनको नियुक्ति असंवैधानिक भएकोले बदर हुनुपर्ने माग गरेका छन् । यो समाचार तयार पार्दासम्म उनले शपथ खाएका छैनन् ।
एकल बहुमतको मुख्यमन्त्री बन्न खोजेका पोखरेल शपथ ग्रहण गर्नुपूर्व नै अल्पमतमा परेका हुन् । लुम्बिनी प्रदेश सभामा ४१ सांसद रहेको एमालेको संख्या ४ जना घटेसँगै ३७ मा झरेको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभाबाट जसपाका ४ र माओवादीका २ सदस्य निष्कासित भएसँगै त्यो संख्या ८१ कायम भएको छ । सरकार गठनका लागि कायम सदस्य संख्याको बहुमत आवश्यक पर्छ । त्यो भनेको ४१ हो । तर, मुख्यमन्त्री पोखरेलको साथममा अब ३७ सांसद मात्रै रहेको देखिन्छ । लुम्बिनी प्रदेश सभामा अहिले माओवादीका सभामुख सहित १९ जना, कांग्रेसका १९ जना र जसपाका २ सदस्य रहेका छन् भने राष्ट्रिय जनमोर्चाका एक सदस्य छन् । प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष मुख्यमन्त्रीबाट दिएको राजीनामासँगै पोखरेलले प्रदेश सभाको विशेष अधिवेशन अन्त्यको सिफारिसपत्र पनि बुझाएका थिए । उक्त सिफारिस पनि प्रदेश प्रमुखले स्वीकार गर्दै अधिवेशन अन्त्यको सूचना जारी गरेका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update