राजनीति

पत्रकारितालाई विश्वसनीय र मर्यादित बनाउने नेतृत्व आवश्यक

Shittalpati Reporter

चैत २५ गते अर्थात् आज पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन हुँदैछ । पहिलो पटक प्रत्यक्ष निर्वाचन पद्दतिद्वारा महासंघको नेतृत्व चयन हुँदैछ । पत्रकारहरूले जिल्ला जिल्लाबाट मतदान गरेर जिल्ला, प्रदेश र केन्द्रको पदाधिकारी चयन गर्ने छन् । महासंघमा उम्मेदवारहरू भोट माग्नका लागि दौडधूप गरिरहेका छन् भने सामाजिक सञ्जाल उम्मेदवारका रंगीन तस्विरहरुले सजिएका छन् ।

अरू बेलामा नचिनिने, नदेखिने मुहारहरू यतिबेला सामाजिक सञ्जाल लगायत यत्रतत्र सहजै भेटिएका छन् । पत्रकारले यो महाधिवेशनबाट जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चुन्नेछन् । राज्यकै चौथो अंगका रूपमा समेत हेरिने पत्रकारहरूको साझा संगठनको यो महाधिवेशन हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालगायतका मुद्दासँगै हरेक राजनीतिक परिर्वतनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको गौरवपूर्ण इतिहास बोकेको हुनाले महासंघको महाधिवेशनप्रति चासो र चर्चा व्यापक छ, जुन स्वाभाविक पनि हो । महासंघले सात दशक लामो यात्रा तय गरिसकेको छ । यसबीचमा संघ महासंघमा मात्र बदलिएन, संगठनका मुद्दा र प्राथमिकताका विषय पनि बृहत् बन्दै गए । देशमा भएका विभिन्न राजनीतिक परिवर्तनमा उल्लेख्य भूमिका निर्वाह गरेर महासंघले आफ्नो गरिमा पनि बढाउँदै गयो । तर २६ औं महाधिवेशनमा आइपुग्दा महासंघलाई पत्रकारहरू सबैले गर्व र सम्मानपूर्वक साझा संगठनका रूपमा जसरी लिनुपथ्र्यो, त्यस्तो देखिँदैन । महासंघको ओज पछिल्ला वर्षहरूमा घट्दै गएको छ । यो आफैमा विडम्बनाको कुरा हो । श्रमजीवी पत्रकारहरूको पेसागत हकहित र सुरक्षाका मुद्दामा फितलो हुँदै गएको भूमिका र नेतृत्व छनोट प्रक्रियामा हावी हुँदै गएको दलगत राजनीति नै बाधक हुन भन्दा अत्युक्ति नहोला ।


हरेक परिवर्तनमा अग्रणी भूमिकामा देखिएको पत्रकारिता अहिले आएर दलको प्रवक्ता जस्तो देखिएको छ । पत्रकारलाई म पत्रकार हुँ भन्न लाज लाग्ने अवस्था आएको छ । लामो इतिहास बोकेको पत्रकारिताको साख दिनानुदिन किन गिर्दो छ अहिले सर्वत्र प्रश्न उठ्न थालेको छ । स्वतन्त्र पत्रकारभन्दा पनि पार्टी केन्द्रित पत्रकारको हालीमुहाली चलेको सर्वविदितै छ । हिजो एउटा पत्रकारको कत्रो इज्जत थियो समाजमा । तर आज त्यो इज्यत माथि दाग लागेको छ । अहिले पत्रकार भन्नेवित्तिकै कुन पार्टीको हो भन्ने गरिन्छ । देशभर अहिले धेरै मिडिया खुलेका छन् । खुल्नु आफैमा राम्रो हो । तर केही मिडियाहरुले आफ्नो मूल मर्म र इथिक्सलाई विर्सेका छन् । यस्तो हुनु चाहि कदापी राम्रो होइन् । खोल्न दिनु र खोल्नुमात्र ठूलो कुरा भएन खोलिएका मिडियाले काम पनि सही गर्नुपर्‍यो । गुणात्मक संख्यामात्र बढाएर भएन । यसको प्रभावकारिता पनि बढाउनु पर्‍यो । पत्रकारितामै आजीवन समर्पित हुने हाम्रा अग्रज पत्रकारहरूको मन कस्तो भएको होला । जतिबेला एउटा पत्रकार बन्नका लागि फलामको चिउरा चपाए सरह हुन्थ्यो । पत्रकारभन्दा राज्य, प्रहरी सबैको आँखाको तारो बन्नुपर्ने अवस्था थियो । अहिलेको समयमा पत्रकार, राजनीतिज्ञ र व्यापारी एक आपसका परिपूरक हुन् भन्दा कुनै फरक नपर्ने बेला आएको छ । चौथोे अंग मानिने पत्रकारिता अहिले दूषित बन्दै गएको छ  । यसलाई शुद्ध बनाउने प्रयास भए पनि त्यो आदर्शवादी नारामात्रै सिमित छ । राजनीतिक रंगबिनाका पत्रकार मुस्किलले मात्रै भेट्न सकिन्छ । आदर्श बोल्न र ताली पाउनु एउटा कुरा हो । तर, हरेक ब्यक्तिको आफ्नो विचार हुन्छ र पत्रकारले हरेक विचारको सम्मान गर्दछ । व्यावसायिक पत्रकार भनिए तापनि पत्रकार एउटा नागरिक पनि हो । तर, पत्रकारिताको त्यो आदर्श नारा राजनीतिले नराम्रोसँग गाँजेको छ ।

यसले जिन्दगीभर पत्रकारिता गरेका व्यक्तिहरुको इज्यत माथि नराम्रो प्रभाव पारेको हुन्छ । पत्रकार महासंघ पत्रकारहरूका लागि संगठित हुने र लोकतान्त्रिक विधिबाट नेतृत्व चुन्ने/चुनिने अभ्यास गर्ने थलो हो । तर महासंघमा नेतृत्व छनोटको अभ्यास जसरी विकास हुँदै गएको छ, त्यसले पत्रकारको आचरण ‘स्वतन्त्र, निष्पक्ष र व्यावसायिक’ लाई नै धज्जी उडाउने अवस्था बनेको छ । यसो हुनु गलत हो । पत्रकार महासंघ सबैको साझा थलो बन्नु पर्दछ । महासंघमा अहिले राजनीतिक आस्थाका आधारमा ‘प्यानल’ बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिने थिति मात्र बसेको छैन, उम्मेदवारी निर्धारणमै राजनीतिक दलका नेताहरू प्रत्यक्ष रूपमै हावी हुन थालेका छन् । यही कारण पत्रकार महासंघको नेतृत्व छनोट राजनीतिक दलहरूको प्रतिष्ठाका विषयमा रूपान्तरण भएको छ । खासगरी महाधिवेशनका बेला हुने नेतृत्व छनोट प्रक्रियामा प्रस्ंट राजनीतिक प्यानल देखिँदै आएको छ । व्यावसायिकतामाथि यही विचलित अभ्यासका कारण महासंघमा चुनिन चाहनेले कुनै न कुनै राजनीतिक दलको ओत लिनैपर्ने अवस्था बनेको छ ।
यस्तो गलत गतिविधहरुलाई सच्याएर अब आउने नेतृत्व अगाडि बढ्न जरुरी छ । पछिल्ला दिनहरुमा महासंघले पेसागत सुरक्षा र हकहितका विषयमा प्रभावकारी पहलकदमी लिन सकेको देखिँदैन । नियुक्तिपत्रबिना काम गर्नुपर्ने, न्यूनतम पारिश्रमिक नपाउनेलगायतका समस्यासँग श्रमजिवी पत्रकारहरू जुधिरहेका छन् । व्यक्तिगत तथा पेसागत सुरक्षाको सुनिश्चितता छैन । तर यी मुद्दामा महासंघ उदासीनजस्तो देखिन्छ । पत्रकारिता पेसालाई मर्यादित बनाउने सन्दर्भमा पनि महासंघको भूमिका देखिँदैन । महासंघको निर्वाचनबाट निर्वाचित भएर आउने अबको नेतृत्वले महासंघलाई सम्मान, भरोसा र विश्वासयोग्य बनाउन आवश्यक छ ।पत्रकारिता एउटा आफैंमा सुन्दर कार्य हो । म पत्रकार हुँ भनेर गर्व गर्ने ठाउँ बनाउन, राजनीति आग्रह पूर्वाग्रहभन्दा पनि राष्ट्र र जनताको हितमा कलम चलाउने श्रमजिवी पत्रकारहरुको सम्मान गर्ने दिशामा नयाँ नेतृत्वले ध्यान दिन सकोस् । (लेखक नवजनचेतना दैनिकका उप–सम्पादक समेत हुन् ।)

 

 


प्रकाशित मिति: बुधवार, चैत्र २५, २०७७, १२:५८:००
प्रतिक्रिया दिनुहोस्