Shittalpati
जीपी कोइराला फाउण्डेसन पाल्पाले गिरिजा बाबुलाई यसरी सम्झियो

पाल्पा, गिरिजाप्रसाद कोइराला फाउण्डेशन पाल्पाले नेपाली काँग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सम्झिएको छ । फाउण्डेशनले ११ औं स्मृति दिवसका अवसरमा शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी गिरिजा बाबुलाई सम्झिएको हो ।

फाउण्डेशनले गिरिजा बाबुको तस्वीरमा माल्यापर्ण गर्दै उनको राजनितिक योगदान र विचारको चर्चा गर्दै सम्झिएको छ । कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले गिरिजा बाबु नेपालको राजनितिक प्रजातान्त्रिक आन्दोलनको प्रमुख योद्धा भएको सम्झदै कोइरालाकै अगुवाईमा नेपालमा शान्ति प्रक्रिया अघि बढेको स्मरण गरे । उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा कोइरालाले खेलकेको भूमिका काँग्रेसका लागि अविस्मरणीय रहेको उल्लेख गर्दै उहाँको त्याग, निष्ठा र बलिदानलाई नेपाली काँग्रेसले सधै उच्च सम्मान गर्ने बताए । सभापति रानाले भने‘कोइराला निर्भिक र निडर नेता हुनुहुन्थ्यो, आज त्यस्तै साहसी नेता देशलाई चाहिएको छ ।’ कोइरालाले राजनितिक जीवनमा गरेका विकास त्याग, आदर्शबाट नेपाली काँग्रेसले मात्रै होइन सबै राजनितिक दल र नेपालीले पाठ सिक्नुपर्नेमा उनले जोड दिए ।

फाउण्डेसनका सभापति यमलाल तिमिल्सीनाले गिरिजाप्रसाद कोइरालाको योगदान र जीवनीका विषयमा चर्चा गर्दै कोरइरालाले देखाएको बाटोमा सबै लाग्नुपर्ने बताए । उनले सहमती, सहकार्य र एकताका लागि गिरिजा बाबुले खेलेको भूमिकाको स्मरण गर्दै त्यस्तो बाटोमा सबै नेताहरु लाग्नुपर्ने उल्लेख गरे । कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले कोरइरालाको तस्वीरमा माल्यापर्ण गर्दै उनको योगदानको चर्चा गरेका थिए । फाउण्डेसनका सभापति यमलाला तिमिल्सीनाको सभापतित्व, सदस्य लाल कुमारी रानाको स्वागत, सदस्य रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो । २०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोश्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा उनको भूमिका महत्वपूर्ण छ । नेपाली मजदूरहरुका सारथी गिरिजाबाबुले २००३ सालमा विराटनगर जुट मिलमा मजदूरको रुपमा रहेर त्यहींबाट मजदूर आन्दोलन थालेरै नेपाली राजनीतिमा नेतृत्व गरेका थिए । त्यसयता नेपालमा भएका हरेक परिवर्तनमा उनले अग्रणी भूमिका खेले । विशेष गरी उनी गणतन्त्रका लागि भएको २०६२–६३ को आन्दोलनका एक्ला नायक नै थिए ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update