Shittalpati
पाल्पामा नेकपाको बोर्ड झिकेर एमालेको राखियो

पाल्पा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाल्पाको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि तानसेनको सिल्खानटोलस्थित पार्टी कर्यालयमा राखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साइनबोर्ड फेरेर एमालेको बोर्ड राखिएको पार्टी अध्यक्ष नारायण आचार्यले बताए । नेकपाको देशैभरका जिल्ला कार्यालयमा एमालेको बोर्ड राख्न सोमबारदेखिनै सुरु भएको हो । सोही क्रममा पाल्पामा पनि राखिएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताइदिएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका छन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन् । सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको थियो । यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पूर्ववत् रूपमा जगाएको छ । २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गठन भएको थियो । अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि आ–आफ्ना पार्टी कार्यालयमा साइनबोर्ड राख्ने क्रम बढ्दै छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update