Shittalpati
शान्ति सुरक्षा कायम गर्न गुल्मी काँग्रेसको आग्रह

रमेश विश्वकर्मा
गुल्मी, पछिल्लो समय जिल्लामा हत्या, हिंसाका गतिविधिहरु बढ्दै गएपछि नेपाली काँग्रेस गुल्मीले चासो देखएको छ । काँग्रेसले जिल्लामा दिनहुँ हत्या, हिंसा र बलात्कारका घटनाहरुमा बृद्धि हुँदै जाँदा आम नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नपाएको भन्दै शान्ति सुरक्षा कायम गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

सोमबार तम्घासमा बसेको नेपाली काँग्रेस जिल्ला कार्य समितिको ३१ औं बैठकले शान्ति सुरक्षा कायम गर्ने विषययमा जोड दिएको छ । जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठको सभापतित्वमा बसेको बैंठकमा सहभागीहरुले शान्ति सुरक्षा कायम गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । उनीहरुले अपराधिक क्रियाकलाप रोक्ने विषयमा कसैले पनि ध्यान नदिदाँ जिल्लामा दिनहुँ जसो घटनाहरु वृद्धि हुँदै गएका बताएका छन् । अपराधिक क्रियाकलापहरु घट्न नदिन सभापति श्रेष्ठले शान्ति सुरक्षालाई ध्यान दिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । उनले अपराधिक क्रियाकलापलाई रोक्न प्रहरी प्रशासन र स्वयं समुदाय सबै एकजुट भएर लाग्नुपर्ने बेला आएको बताए । बैंठकमा जिल्ला सचिव खिलध्वज पन्थीले अपराधी कसैलाई पनि छोड्न नहुने बताएका छन् । उनले अपराधमा संलग्नलाई कानुनी कठघरामा ल्याउन आग्रह गरे । त्यस्तै बैंठकमा आसन्न महाधिवेशनको तालिका समेत केन्द्रीय समितिले निर्धारण गरेको हुँदा सबै वडाहरुलाई क्रियाशिल सदस्यता सम्बन्धी काम पूरा गरि पालिकामा छिट्टै पठाउन निर्देशन दिने निर्णय गरेको बताईएको छ । बैंठकमा नेपाली काँग्रेस जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, क्षेत्रीय सभापति, प्रदेश क्षेत्रीय सभापतिहरु लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update