Shittalpati
संसद् पुनःस्थापनापछि गुल्मी काँग्रेसले जनतासँग खुसीयाली साटासाट गर्दै

गुल्मी, सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक ठहर्‍याउँदै संसद् पुनःस्थापना गरेपछि नेकपा सहित नेपाली काँग्रेसले खुसीयाली मनाएको छ । गुल्मी काँग्रेसले पनि सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि जिल्लामा खुसीयाली मनाएको छ । काँग्रेसले मंगलबार खुसीयालीमा दिपप्रज्वलन गरेको थियो, भने शुक्रबार जिल्लाका १२ वटै स्थानीय तहका जनतासँग खुसीयाली साटासाट गर्न लागेको छ ।

सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेको प्रति खुसीयाली सहित धन्यवाद कार्यक्रम गर्न लागिएको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार फागुन १४ गते शुक्रबार कार्यक्रम गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेका थिए । उक्त विघटित संसद्को सर्वोच्च अदालतले पुनःस्थापना गरेको छ । यही सुखीयालीमा कांग्रेसले कार्यकर्ता तथा जिल्लावासीसँग खुसीयाली मनाउन लागेको हो । सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको सभापति श्रेष्ठले बताए । उनले भने ‘संवैधानिक सर्वोच्चता कायम भएको र न्याय अझ मरेको छैन ।’ खुसीयाली सहित धन्यवाद कार्यक्रम गर्नको लागि जिल्लाका १२ वटै स्थानीय तहमा जिल्लाबाट प्रतिनिधि समेत खटाईएको सचिव खिलध्वज पन्थीले जानकारी दिए । उनले सर्वोच्च अदालतले संविधानको सर्वोच्चता कायम गरेको बताए । सर्वोच्च अदालतले मंगलवार प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय खारेज गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ । सरकारको सिफारिसमा गत पुस ५ गते राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन घोषणा गरिएको थियो । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयको विरोधमा नेपाली काँग्रेस लगायत विभिन्न राजनीतिक दलले देशव्यापी जनप्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update