Shittalpati
आज प्रचण्ड–नेपाल समूहले तानसेनमा भेला गर्दै

पाल्पा, नेकपा प्रचण्ड– नेपाल समूहले तानसेनमा (आज) शनिबार अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । प्रचण्ड– नेपाल समूहले ओली सरकारको असंवैधानिक कदमका विषयमा कार्यकर्ता तथा आम पाल्पालीलाई जानकारी दिने उद्देश्यले भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) पाल्पाको आयोजनामा हुन लागेको भेलालाई नेकपा केन्द्रीय स्तरका प्रभावशाली नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रम तानसेन नगरपालिकाको ठूलो हलमा हुने जनाइएको छ । नेकपाका अनुसार भेलालाई केन्द्रीय स्थायी कमिटी सदस्य युवराज ज्ञवाली, पूर्व कृषि मन्त्री घनश्याम भुषाल, पूर्व अर्थमन्त्री वर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्ती, पूर्व उद्योग मन्त्री तथा पाल्पा क्षेत्र नं. २ का सांसद सोमप्रसाद पाण्डेय, नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरे, प्रदेश सभासद तथा केन्द्रीय सदस्य तुलाराम घर्ती लगायतका नेताहरुले सम्बोधन गर्ने छन् ।

प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध चरणवद्ध सडक संघर्ष गर्दै आएको प्रचण्ड–नेपाल समूहले कार्यकर्ताहरुलाई पार्टीको आगामी कार्यदिशा, ओली सरकारको असंवैधानिक कदम लगायतका विषयमा जानकारी गराउने छ । कार्यक्रममा जिल्लास्तरका नेता कार्यकर्ता तथा अगुवा कम्युनिष्ट कार्यकर्ताहरुको सहभागिता रहने नेकपा पाल्पा प्रचार–प्रसार विभागले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update