Shittalpati
संसद् विघटनविरुद्ध पाल्पा र गुल्मीमा पनि काँग्रेसको प्रदर्शन

पाल्पा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले शनिबार देशैभरका स्थानीय तहमा आह्वान गरेको विरोध कार्यक्रम पाल्पा र गुल्मीका स्थानिय तहमा पनि भएको छ । काँग्रेसले पाल्पाका १० स्थानीय तह र गुल्मीका १२ स्थानीय तहमा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनसँगै आयोजित सभालाई विभिन्न नेताहरुले सम्बोधन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको नेकपाको सरकारको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम रहेको उल्लेख गर्दै कांग्रेसका नेताहरुले सर्वसत्तावाद, कुशासन र भ्रष्टाचार विरुद्ध सिंगो मुलुक जागरुक भएको बताए ।

पाल्पाको निस्दी गाउँपालिकामा नेपाली काँग्रेसका जिल्ला सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर राना, रामपुर नगरपालिकामा उपसभापति देवराज ढकाल, बगनासकाली गाउँपालिकामा सचिव झपेन्द्र गहिरे, तानसेन नगरपालिकामा अर्का सचिव अजयमान कर्मचार्य, माथागढी गाउँपालिकामा महासमिति सदस्य यमलाल तिमिल्सीना, रैनादेवी छहरा गाउँपालिकामा नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रिय सभापति रामबहादुर कार्की, रम्भा गाउँपालिकामा काँग्रेसका केन्द्रीय सदस्य नविन्द्र राज जोसी, तिनाउमा जिल्ला सदस्य अधिवक्ता महेन्द्र पाण्डे, पूर्वखोलामा देवराज ढकाल,रिब्दीकोटमा माधव नेपाल र सुनिता अधिकारीले सम्बोधन गरेको पार्टी सचिव झपेन्द्र गहिरेले जानकारी दिए ।

उता नेपाली काँग्रेस गुल्मीले पनि जिल्लाका १२ वटै स्थानीय तहमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको असंवैधानिक कदमको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । कालीगण्डकी गाउँपालिकामा पार्टीका जिल्ला उपसभापति विष्णुप्रसाद बलाल, मालिका गाउँपालिकामा पार्टी सचिव खिलध्वज पन्थी, इस्मा गाँउपालिकामा पार्टी सचिव विष्णुकुमारी सापकोटा, रेसुङ्गा नगरपालिकामा पार्टीका कोषाध्यक्ष हरिबहादुर केसी, सत्यवती गाउँपालिकामा जिल्ला सहसचिव गोपालप्रसाद पाण्डेय, मुसिकोट नगरपालिकामा पार्टीका जिल्ला सदस्य एवं केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य छन्दबहादुर पहराई, छत्रकोट गाउँपालिकामा पार्टीका जिल्ला सदस्य एवम् नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय उपाध्यक्ष श्रीप्रसाद भलामी, धुर्कोट गाउँपालिकामा महाधिवेशन प्रतिनिधि डा.दामोदर भुसाल, चन्द्रकोट गाउँपालिकामा नेपाली काँग्रेस गुल्मी क्षेत्र नं. २ का क्षेत्रीय सभापति भगतसिंह खड्का,गुल्मीदरबार गाउँपालिकामा अनन्तराम पौडेल, रूरूक्षेत्र गाउँपालिकामा थम्मनबहादुर केसी र मदाने गाउँपालिकामा प्रेमनारायण भण्डारीले सम्बोधन गरेका थिए । संसद विघटनको असंवैधानिक कदम खारेजी गर, केपी ओलीको तानाशाहा निरंकुशतावादी शैली मुर्दावाद भन्ने नारा लगाउँदै विरोध प्रदर्शन भएको हो । वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर तानाशाह शैलीको प्रर्दशन गर्दै संविधानलाई नै लत्याएर स्वघोषित महाराज बन्न खोजेको आरोप विरोध प्रर्दशनमा सहभागी कांग्रेस कार्यकर्ताले लगाएका छन् । यसअघि कांग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update