Shittalpati
संसद् विघटनविरुद्ध काँग्रेसको पाल्पामा पनि प्रदर्शन

पाल्पा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पाल्पाले पनि केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । काँग्रेसले ओलीको कदमलाई असंवैधानिक रहेको भन्दै सोमबार प्रदर्शन गरेको हो । नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार पाल्पा सहित देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ ।

पाल्पाका दुई वटै प्रतिनिधि सभाका क्षेत्रहरुमा विरोध प्रदर्शन भएको छ । क्षेत्र नम्वर १ को रामपुरमा र २ को तानसेनमा व्यापक प्रदर्शन भएको नेपाली काँग्रेसका जिल्ला सचिव झपेन्द्र गहिरेले जानकारी दिए । तानसेनमा भएको विरोध सभालाई नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर राना र क्षेत्र न. १ को रामपुरमा भएको सभालाई नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजन पन्तले सम्बोधन गरेका थिए । सभालाई तानसेनमा सम्बोधन गर्दै सभापति रानाले बहुमत प्राप्त केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान माथि कुठराघात गरेको बताएका छन् । उनले संविधान र लोकतन्त्रको सरंक्षणका लागि काँग्रेस सडकमा आएको भन्दै अब सबै नेता कार्यकर्ता सजग हुनुपर्नेमा जोड दिए । उनले लोकतन्त्र जोगाउन र संविधानको संरक्षणको जिम्मेवारी अहिले काँग्रेसको काँधमा आएको बताए । ‘काँग्रेस आफ्नो दायित्व र जिम्मेवारीबाट भाग्न मिल्दैन र भाग्दैन पनि’ उनले भने । सभापति रानाले असंवैधानिक रूपमा सरकारले अगाडि सारेको प्रतिनिधिसभा विघटनको प्रस्ताव स्वीकृत गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको पालना र संरक्षण गराउने भूमिका पूरा गर्नबाट चुकेको बताए । संविधान पालना गराउने र संरक्षण गर्ने मुख्य जिम्मेवारी राष्ट्रपति र प्रधानमन्त्रीको भए पनि त्यसबाट उनीहरु चुकेको रानाले आरोप लगाए । 

प्रमुख प्रतिपक्षी दलको हैसियतले काँग्रेसले आफ्नो नेतृत्वमा बनेको संविधान माथि बलत्कार भइरहेको हेरेर बस्न नसक्ने उनको भनाइ छ । ‘यो कदम सच्याउनुपर्छ, आफ्नो नेतृत्वमा जारी गरेको संविधान संकटमा परेको हामी टुलुटुलु हेरेर, चुप लागेर बस्दैनौं’ सभापति रानाले भने । जनताले दिएको प्रतिपक्षीको भूमिकामा काँग्रेसले आफूलाई अगाडि बढाउनुपर्ने पार्टी नेतृत्वलाई उनले सुझाव दिए । रामपुरमा सम्बोधन गर्दै काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजन पन्तले नेपाल कम्युनिष्ट पार्टीको विवादसँग जोडेर प्रतिनिधिसभा विघटन गरिनु दुःखद् भएको बताएका छन् । ‘संविधानमा संसद् विघटनको व्यवस्था नै छैन, व्यवस्थामा नै नभएको कुरा सरकारले गरेको छ’, उनले भने, ‘संविधानको रक्षक राष्ट्रपतिबाट पनि गलत कामको समर्थन भएको छ ।’

तानसेनको हुलाक चोकमा भएको वृहत जुलुशपछिको कोणसभामा नेपाली काँग्रेसका जिल्ला सचिवहरु झपेन्द्र गहिरे, अजयमान कर्माचार्य, महासमिति सदस्य यमलाल तिमिल्सीना, नेपाली काँग्रेस क्षेत्र नं २ प्रदेश सभा ‘क’ का सभापति कृष्णप्रसाद बस्याल, प्रदेश सभाका उम्मेदवार माधव नेपाल, काँग्रेस रिब्दीकोट गाउँपालिकाका सभापति रामचन्द्र पाण्डे, पार्टीका कानुनी सल्लाहकार लालकुमारी राना, नेपाल महिला संघकी केन्द्रीय सदस्य रमा पन्त, नेपाल तरुणदलका जिल्ला सभापति मेजरसिं केसी, नेविसंघका कार्यवाहक जिल्ला सभापति सुरेश बोहोरा लगायतका नेताहरुले बहुमत प्राप्त सरकार प्रतिगामी बनेको र जनतालाई धोका दिएको आरोप लगाएका छन् । उनीहरुले सरकारले चालेको कदम लोकतन्त्र विरोधी र गैरसंवैधानिक भएकाले संविधान संरक्षणका लागि आफूहरु सडकमा आएको बताए । लोकतन्त्रको रक्षाका लागि आफूहरु जस्तोसुकै कदम चाल्न पनि तयार रहेको उनीहरुको भनाइ छ । सभा नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रिय सभापति रामबहादुर कार्कीको सभापतित्व, सचिव यादवसिं कार्कीको सञ्चालनमा भएको थियो । सभामा सयौं नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । उनीहरु तानसेनको टँुडिखेलबाट, शित्तलपाटी, टक्सारटोल, सिल्खानटोल लगायतका स्थानमा नाराबाजी सहित विरोधमा उत्रिएका थिए ।

त्यस्तै उता गुल्मीका दुई निर्वाचन क्षेत्रमा पनि विरोध प्रदर्शन भएको छ । क्षेत्र नं १ को गैडाकोट र २ को वामीटक्सारमा प्रदर्शन भएको हो । क्षेत्र नं १ मा भएको सभालाई नेपाली काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, क्षेत्र नं २ मा काँग्रेसका पूर्व जिल्ला सभापति चन्द्र केसी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update