Shittalpati
काँग्रेसमा अहिरो, नेकपामा पहिरो

रमेश विश्वकर्मा
गुल्मी, प्रतिपक्ष दल नेपाली काँग्रेसको १४ औं माहाधिवेशन हुन लागिरहेका बेला गुल्मीमा नेकपा सहित विभिन्न पार्टीमा आवद्ध रहेका नेता कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गर्ने क्रम बढ्दै गएको छ । सत्तारुढदल नेकपाबाट असन्तुष्ट हुँदै धेरै नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर बढ्दै गएको हो । यसरी नेता कार्यकर्ताहरु धामाधम काँग्रेस प्रवेश गर्न थालेपछि कम्युनिष्ट गठबन्धन आत्तिन थालेको काँग्रेसले जनाएको छ ।

समाज परिवर्तनमा महत्वपूर्ण योगदान पुर्‍याएका उनीहरुले आफु आवद्ध पार्टीमा भएका गतिविधिहरुप्रति चरम असन्तुष्टि जनाउँदै काँग्रेसले अगाँलेको समाजवादको सिद्धान्तमा एकताबद्ध हुन काँग्रेसमा प्रवेश गरेको जनाएका छन् । जिल्लाको कालिगण्डकी गाउँपालिकामा तत्कालिन नेकपा एमालेबाट निर्वाचित पुर्व वडाअध्यक्ष प्रेमबहादुर पुन सहित दजनौँ युवाहरु काँग्रेसमा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी सहित अन्य पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेका युवाहरुलाई मंगलबार नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, उपसभापति बिष्णुप्रसाद बलाल, सचिव खिलध्वज पन्थी, सहसचिव गोपालप्रसाद पाण्डेले स्वागत गरे ।

यस्तै जिल्ला सदस्य एंव कालिगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापा, जिल्ला सदस्य प्रकाश भलामी, क्षेत्र नम्बर एक प्रदेश ‘क’ सभापति तथा सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल लगायतका नेताहरुले पनि उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए । पार्टीमा नयाँ प्रवेशीहरुलाई स्वागत गर्दै सभापति श्रेष्ठले वर्तमान नेपाल कम्युनिष्ट पार्टीको सरकार केवल भष्ट्रचार र काण्डैकाण्डमा चुर्लुम्म डुबेकाले यतिबेला पश्चिमको अग्लुङ्ग र पूर्वको अर्बेनीबाट कांग्रेस प्रवेशीहरुको लहर बढदै आएको बताए । जिल्लामा अब यसैगरी नेपाली काँग्रेसमा प्रवेश गर्नेको लहर बढ्दै जाने सभापति श्रेष्ठले विश्वास व्यक्त गरे । उनले भने‘सुखमा सबैले साथ दिन्छन् । तर दुखमा साथ दिने बिरलै हुन्छन् । काँग्रेस यतिबेला प्रतिपक्षमा छ ।’ नयाँ प्रवेशीहरुलाई बीपीले परिकल्पना गरेको समाजवादको बाटोमा विचल्लित नभई एकाकार हुन सभापति श्रेष्ठले सबैलाई आग्रह समेत गरे । उपसभापति बलालले काँग्रेस सधैँ सत्यको बाटोमा हिडेको बताए । चुनावमा गरेका वाचालाई सत्तामा पुगेपछि विर्सने परिपाटीको अन्त्य हुन आवश्यक रहेको उल्लेख गर्दै बलालले वर्तमान सरकारको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले चुनावको बेला जनतामाझ गरेका वाचा बिर्सदैँ गएको आरोप लगाए ।

सचिव पन्थीले काँग्रेस सधैँ गरिब, दलित, अन्याय, अत्याचार, भष्ट्रचारका विरुद्ध लड्ने पार्टी भएको बताए । कांग्रेस सधैँ देश र जनताको पक्षमा काम गर्ने पार्टी भएको उल्लेख गर्दै उनले भने, ‘अहिले जनता भोकसँग लडिरहेका छन् । रोगले प्रताडित छन् । सरकारले उनीहरुको आवाज सुन्दैन् । महसुस गदैन् । काँग्रेसले भोकाहरुको पेट भर्न चाहान्छ । गरिब, दुखि, रोगीको सारथी बन्न चाहान्छ’ उनले भने । सोही अवसरमा कालीगण्डकी गाउँपालिकाको केन्द्र पूर्तीघाटमा नेपाली काँंग्रेसको पार्टी कार्यालयको उद्घाटन गरिएको छ । नेपाली काँग्रेस कालीगण्डकी गाउँपालिका संयोजक निम बहादुर श्रीसको सभापतित्व, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का उपसभापति जगदीश भट्टराईको स्वागत, सञ्चालन क्षेत्रीय सचिव सन्तोष गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update